माओवादी लडाकूका लागि नेपाली सेनामा गरिएको चलखेल स्वीकार्य हुँदैन : डा. शेखर कोइराला


काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा माओवादीको पूर्व लडाकूका लागि नियमको दुरुपयोग गरी भएको चलखेल स्वीकार्य नभएको बताएका छन् ।

पूर्व लडाकु सहायक रथी यमबहादुर अधिकारीलाई सेनापति बनाउन चलखेल शुरू भएको समाचार बाहिरिएपछि आईतबार बिहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले चलखेल स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले लेखेका छन्, ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादीका पूर्व लडाकूका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन ।’

सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने कोइरालाको चिन्ता छ । उनले लेखेका छन्, ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस् ।’

माओवादीका पूर्व लडाकू तथा नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी ‘प्रतीक्षा’को पदावधि सरकारले ३ वर्ष थपेकोमा नेता कोइरालाले आपत्ति जनाएका छन् । असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको पदावधि सरकारले थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0