एमाले नेताहरूबीच उपसचिव पदमा सहमति नजुट्दा निर्वाचन प्रक्रिया थप लम्बियाे
उपाध्यक्षमा मनोनयन दर्ता गरेका ५ जना नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाएर कालीबहादुर शाही सर्वसम्मत चुनिदा उपसचिवमा सहमति भएको छैन ।
अध्यक्षका उम्मेदवार भरत साउद पक्षले उपसचिवमा नरबहादुर बिकको नाममा सहमति गरेर अध्यक्ष र सचिव पदको उम्मेदवारी फिर्ता लिने सर्त अघि सारेका छन् ।
अध्यक्षका उम्मेदवार साउद नेता भीम रावल निकट मानिन्छन् । यो समूहको नेतृत्व गरिरहेका नेता झपट रावलले उपसचिवमा बिकको नाममा सहमति भए मात्र अध्यक्ष र सचिव पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने मिडियालाई बताए ।
‘उहाँहरूले मनोनयन दर्ता नगराएकाहरूलाई उपसचिव बनाउन खोज्नुभएको थियो तर हामीले त्यो विधिसम्मत हुँदैन भनेपछि रोकिनुभयो,’ रावलले भने, मनोनयन गराएकाहरूकै नाममा सहमति खोजौं भन्ने हो । उपसचिवमा नरबहादुर बिकलाई ल्याउदा अध्यक्ष पदमा पनि कुरा मिल्छ तर उहाँहरू तयार देखिनुभएको छैन । हेरौं ।’
रावलले बिकलाई उपसचिव बनाए मात्र अध्यक्षका उम्मेदवार साउद र सचिवका उम्मेदवार रतनबहादुर रेग्मीको उम्मेदवारी फिर्ता हुने बताए ।
संस्थापन पक्षका अशोककुमार चन्दलाई उम्मेदवारी फिर्ता गर्न लगाएर बिकलाई उपसचिव बनाउन नेताहरू तयार छन् तर दुवै उपसचिव (महिला)मा सहमति नबन्दा समस्या भएको नेताहरू बताउँछन् ।
कन्दकला राना र भागरथी विष्टमध्ये उपसचिव कसलाई बनाउने भन्ने सहमति नहुँदा समस्या भएको एक नेताले बताए । तर, सहमति खोज्ने प्रयास जारी राखिएको छ ।
नेताहरूकै आग्रहमा निर्वाचन समितिले भने उम्मेदवारहरूको अन्तिम नामावली अझै प्रकाशन गरेको छैन ।
प्रमुख निर्वाचन अधिकृत पदम पालले भने अब आफूहरूले प्रक्रिया अघि बढाउने बताए।
२१ गतेदेखि सुरू भएको एमालेको प्रदेश अधिवेशन केन्द्रीय निर्देशनअनुसार नेताहरू सहमति खोज्न थालेपछि पाँच दिनसम्म लम्बिएको छ। अन्य जिल्लाहरुकाे सदस्यकाे सहमति भयपनि कैलालीमा २९ जना सदस्य छुट्याउने सहमति भएकाे तर छनाैट हुन वाकिरहेकाे नेता खम्बु बुढाले वताए । २९ जनाका लागी १०० जनाकाे उम्मेदवारी परेकाे हुदा अझै सहमति हुननसकेकाे उनले बताए ।