गेटामा तत्काल ३१ अधिकृत सहित १४१ दरवन्दी स्वीकृत, छिटै अस्पताल संचालन हुने


अत्तरिया  : गेटा अस्पतालका लागि ३१ अधिकृतसहित १४१ स्वास्थ्यकर्मी तथा प्रशासन सहितका कर्मचारीको दरवन्दी स्वीकृत भएको छ।

हिजो बसेको मन्त्रीपरिषद बैठकले आर्थिक वर्ष २०८०-८१ का लागि गेटा अस्पताल संचालन गर्न विशेषज्ञ चिकित्सक देखि चिकित्सक, नर्स तथा अन्य कर्मचारी सहित १४१ जना जनशक्तिको अस्थायी दरबन्दीको स्वीकृती दिएको हो।

गेटा अस्पतालका निर्देशक डा प्रमोद जोशीले यो दरवन्दी स्वीकृतसँगै अब अस्पतालबाट छिटै सेवा संचालन हुने बताए। उनले भने ‘हामीले ओपिडी संचालनका लागि आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयबाट पाइसकेका छौँ, अब स्वीकृत दरवन्दी अनुसारका चिकित्सक तथा कर्मचारी जाने बित्तिकै सेवा सुचारु हुन्छ।‘

सुरूमा एक सय शय्याबाट सुरू गरेर बिस्तारै शैय्या क्षमता थप गरिने डा जोशीले जानकारी दिए। उनले भने यो अस्पताल अहिले १०० शैय्या शुरु गर्ने र पूर्वाधार सम्पन्न हुदै तथा भवन हस्तान्तरण हुदै जाँदा आवश्यक जनशक्तिको दरवन्दी बढाँउदै लक्ष्य अनुरुप ३०० र ६०० शय्या सम्म विस्तार गर्दै अगाडी बढ्ने बताए।

एक वर्षमा केही प्रविधिक र केही प्रशासनिक उपलब्धि भएको बताउदै गेटा अस्पतालको नाम पहिचान बनेको, लाइन मिनिस्ट्री बजेट इन्फर्रमेसन सिस्टम(एलएमबिआइएस) कोड प्राप्त गरिएको, दरवन्दी स्वीकृत गरिएको केही आवश्यक जनशक्ति ल्याउन सफल भएको डा जोशीले जानकारी दिए।

उनले यसलाई उपलब्धिकै रुपमा लिन सकिने बताउदै सुरुमा अहिलेको त्रिवि टिचिङ हस्पिटल पनि १५ बेडबाट सुरु भएर यो अवस्थामा पुगेको स्मरण गर्दै मेडिकल इन्टिच्युटको लक्ष्य अनुरुप १०० वेडबाट शुरु भएर अगाडी बढ्ने बताए।

एक वर्ष अघि अस्पताल संचालनका लागि आवश्यक काम अगाडी बढाउन गेटा अस्पतालको निर्देशकका रुपमा सरकारले पहिले कर्मचारीका रुपमा डा प्रमोद जोशीलाई नियुक्ती दिएको थियो। तर सो आर्थिक वर्षमा आवश्यक स्वीकृत बजेट भने पाऐको थिएन। आर्थिक वर्ष २०८०-८१ का गेटा अस्पतालले पुँजीगत तर्फ ८० करोड चालु तर्फ ३.५ करोड बजेट स्वीकृत भइसकेको छ ।