शिव शिखर सहकारीको अत्तरिया सेवा केन्द्रमा लाग्याे सिल


अत्तरिया  : शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र अत्तरियामा सिल गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको परिपत्र अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले सोमबार अत्तरियाको धनगढी रोडमा रहेको सहकारीको कार्यालयमा सिल गरेको छ ।

शिव शिखर सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार साउन २५ गते समस्याग्रस्त घोषणा गरिएको थियो ।

सहकारी समस्याग्रस्त घोषणा पछि सहकारी ऐन २०७४ को दफा १०५ बमोजिम संस्थाको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालयलाई सिल गर्न पत्राचार गरेको थियो ।

सोही अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका – १ मा रहेको शिव शिखर सहकारीमा सिल गरी मुचुल्का उठाइएको डीएसपी गणेश बरालले बताएका छन् ।

प्रहरीले भाडाको घरमा सञ्चालनमा रहेको सहकारीको भुइँतलामा रहेका दुई गेट र तेस्रो तलामा रहेको मूल गेटमा सिल गरेको छ । सो क्रममा प्रहरी संगै गोदावरी नगरपालिकाका जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो ।