डडेल्धुरा मेडिकल कलेजले पायाे कक्षा सञ्चालनको लागि स्वकृति


डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजले कक्षा सञ्चालनको लागि स्वकृति पाएको छ । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेकोमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको हो । डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकरण ओझाका अनुसार ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको छ।

त्यसका लागि चिकित्सा शिक्षा आयोगले १० जनाको कोटा पनि निर्धारण गरेको ओझाले बताए । अब आयोगले कार्तिक १८ गते इन्ट्रान्स लिने र त्यसपछि विद्यार्थी पठाउने जानकारी प्राप्त भएको ओझाले जानकारी दिएका छन । माघदेखि कक्षा सञ्चालनको तयारी रहेको छ ।

आयोगले यसअघि डडेल्धुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएको थियो ।

‘ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,’ डडेल्धुरा मेडिकल कलेजका डिन हेमनाथ जोशीले भने, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको थियो । पाउनुपर्ने तीन वटा थियो तर अहिले एउटा पाइएको छ। यो पनि उपलब्धि हो ।’

मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी, डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ । भौतिक संरचना निर्माणका लागि डिपिआर निर्माणको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0