यी बालिकाको बुवा को ? दुधे बच्चा उखुबारीमा छाडेर अर्काे केटासँग भाग्न खोज्दा आमा पक्राउ


महेन्द्रनगर : आफ्नै कोखबाट जन्माएको सन्तान सबैलाई प्यारो हुन्छ तर आफैंले जन्माएको सन्तानलाई आफैंले राति एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा दुप्पटाले हात बाँधेर उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला ?

आफैंले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला ? ९ महिने दुधे शिशु छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी ती महिला कञ्चनपुरको बेलडाडी गाउँपालिकाबाट पक्राउ परेकी छन् ।

शुक्रबार बिहानै ९ महिने शिशुलाई बेलौरी नगरपालिका–७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर परपुरुषसँग भाग्न लागेकी महिला पक्राउ परेकी हुन् ।

पुनर्वास नगरपालिका–२ अमरैया माइती घरमै बस्दै आएकी शर्मिला चौधरी पक्राउ परेकी छन् । चौधरीले आफैंले जन्माएकी छोरीलाई उखुबारीमा एक हात बाँधेर छाडेकी थिइन् ।

शर्मिलाले यसअघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी विवाह गरेकी थिइन् । केही समय विवाहित जीवन राम्रो चले पनि पछि अजयलाई छाडेर उनले बैलौरीकै सुन्दर चौधरीसँग भागी विवाह गरेकी थिइन् ।

शर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो, बुवा को हुन् भन्ने पहिचान नभएपछि श्रीमान् सुन्दर चौधरीसँग विवाद भएपछि उनी बेलडाँडी–३ वैवाहका प्रेम डगौरासँग भाग्न लागेकी थिइन् ।

शिशुका कारण श्रीमानसँग रातदिन झैझगडा र किचलो हुन थालेपछि सामाजिक सञ्जाल फेसबूकमार्फत चिनजान भएका वैवाहका प्रेम डगौरासँग भागेर विवाह गर्न लागेकी उनलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने शर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाइएको बताए । ‘९ महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा शर्मिलालाई प्रहरीले पक्राउ गरिसकेको छ,’ उनले भने, ‘इप्रका बेलौरीमा शर्मिलामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’ (साभार राजधानी दैनिक )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0