अत्तरिया साना शहरी खानेपानीको एक कार्यक्रमका बिच १४औ वार्षिक साधारण सभा सम्पन्न
अत्तरिया: कैलालीको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच संस्थाको १४औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष टिकादत्त जोशीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । संस्थाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारण सभा आयोजना गरेको थियो । संस्थाले पार्षद सदस्यहरुको उपस्थितिमा साधारण सभा आयोजना गरेको हो । जसका लागि १५ घरधुरी बराबर एक पार्षद सदस्य बनाईएको छ । उक्त आर्थि वर्षमा संस्थाले विभिन्न कार्यहरु गरेको जनाएको छ । जसअन्र्तगत संस्थाले विभिन्न स्थानमा पाईपलाईन विस्तारको काम गरेको जनाएको छ ।
त्यसका साथै संस्थाको कार्यक्षेत्र भित्र स्तरोन्नती गर्ने, कार्यालय परिषर भित्र पानी फोहोरा सहितको बगैचा, विद्युतिय सुचना प्रशारण सम्बन्धी गेट, पार्किङ र शौचालय, सतही ढल, गोल घर, विलिङ काउन्टरका साथै बनदेखी मन्दिर देखी आर्यघाट सम्म पाइपलाईन र रिजर्व टंकीको डिजाइन सर्वे गर्ने कार्य गरिएको बताईएको छ ।
संस्थाले अति संवेदनशिल आधारभुत आवश्यकताको सुरक्षार्थ तथा सम्भावित जोखिमलाई न्यूनिकरण गर्न खानेपानी संस्थाको कम्पाउन्ड भित्र आवश्यक सिसिटीभि क्यामेरा खरिद गरि जडान गरेको जनाएको छ भने खानेपानी आयोजना क्षेत्रको अनुगमन तथा संस्थाको काम विशेषले बाहिर आवत जावत गर्न २ थान मोटरसाईकल खरिद गरिएको जनाएको छ ।
संस्थाले उक्त आर्थिक वर्षसम्म १ करोड ५० लाख ५ हजार १११ रुपैया बचत गर्न सफल भएको संस्थाको वार्षिक प्रगती प्रतिवेदनको बासलातमा उल्लेख गरिएको छ । जसमा ४७ लाख ९४ हजार ८०१ रुपैया आर्थिक वर्ष २०७८/०७९ मा मात्रै बचत भएको छ । संस्थाको १४औ वार्षिक साधारण सभा करिब ६ महिना ढिलो गरि आयोजना गरिएको थियो । साधारण सभाको उद्घाटन सत्रमा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, नगरप्रवक्ता गाेपाल भट्ट, वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल लगायत अन्य समाजसेवी लगाएतकाे सहभागीता रहेको थियो ।