पुर्व मन्त्री सुवेदीले मुख्यमन्त्रीलाई भने : हाम्राे अत्तरिया देखि के रिस छ ?


उनले अत्तरिया प्रति केही गुनासो भए बसेर छलफल गर्न अनुरोध गर्दै अत्तरियाको विकास निर्माणमा बाधक नबनिदिन आग्रह गरे । ‘तपाइले गोदावरी संग प्रतिशोध साट्नुपर्ने के कारण छ । बसेर छलफल गराै‌ होइन भने २ तिहाइको सरकारले पारित गरेको राजधानीलाई यथाशीघ्र निर्माण गर्न पहल गर्नुहोस’ उनले भने ‘अहिले प्रदेश देखि संघमा गठबन्धनकै सरकार छ । गोदावरीमा भोगाधिकार ल्याएर राजधानी बनाउनुस् । गोदावरी र अत्तरियाको विरोध नगर्नुहोस् ।’

उनले गोदावरीमा राजधानी सार्नको लागि हाल प्रदेशका मुख्यमन्त्री दौडधुपमा लागेको आरोप लगाए । ‘अघिल्लो २ तिहाइको सरकारले सुदूरपश्चिमको राजधानी गोदावरी नगरपालिका २ र ४ नम्बरमा हुनेछ भनेर २ तिहाइका साथ निर्णय गरेको थियो । म पनि त्यती बेला मन्त्रीको रुपमा काम गर्दा करिब १ हजार विगा भोगाधिकारका लागि संघीय सरकार संग माग गरेका थियौं’ उनले भने ‘यस्तो परिस्थितिमा अहिलेका मुख्यमन्त्री ज्यु ले बिभिन्न जिल्लामा गएर सुदूरपश्चिमको राजधानी कहिले डडेल्धुरा लैजाने, कहिले धनगढी लौजान्छु भन्नु हुन्छ, कहिले दिपायल लैजान्छु भन्नु हुन्छ । सुदूरपश्चिमको यो सरकारको असफलताको नमूना हो यो ।’

उनले आफूले काम गर्न नसकेर सुदूरपश्चिमका जनतालाई गुमराहमा राख्न मुख्यमन्त्री राजधानीलाई निहु बनाएर जनतामा वितृष्णा फैलाउने काम गरिरहेका बताए । उनले मुख्यमन्त्रीले यस्तै षड्यन्त्र गरिरहे उनलाई अत्तरियामा निषेध गरिने बताए । ‘अहिले प्रदेश सरकारले कुनै पनि काम गर्न नसकेर, अहिले यो सरकार असफल भएको प्रमाणित हुन लागेको छ । अहिले मुख्यमन्त्री ज्युले केही काम गर्नु भएन भनेर जनगुनासो आएको छ । त्यसैले यस्तो गुनासोलाई थामथुम पार्न वहाँले राजधानीका कुरा बाहिर ल्याउनु भएको छ । वहाले जनतालाई एक आपसमा लडाउने काम गरिरहनु भएको छ’ उनले भने ‘तपाईले यो क्षेत्र छोडेर कही अन्तै सार्ने षड्यन्त्र गर्नुभयो भने यो क्षेत्रका जनताले अत्तरियामा प्रवेश निषेध गर्न सक्छन् ।’

उनले प्रदेश सभाले पारित गरेको प्रदेश राजधानी बनाउने कुरामा यथाशीघ्र काम गर्न आग्रह गरे । ‘तपाइमा आट छ हिम्मत छ, अलिकति नैतिकता छ, जवाफदेहिता छ, हिजोको सरकारले गरेका कामलाई निरन्तरता दिने तपाइको बुद्धि छ भनेपछि गोदावरीमा राजधानी निर्माण गर्नुहोस्’ उनले भने ‘म हिजोको जनप्रतिनिधि भएकाले मेरो यस विषयमा बोल्ने दायित्व छ । नत्र भने भोलि यसको जवाफदेहिता तपाईंले लिनुपर्ने हुन्छ ।’ 

उनले गेटामा स्वास्थ्य विश्वविद्यालय बनाउने काम पनि ओझेलमा पारिएको बताए । ‘अरबौँको लगानी भएको गेटा विश्वविद्यालयलाई ओझेलमा पारेर अर्को ठाउँमा बनाउने कुरा नैतिकताले पनि दिदैन’ उनले भने ‘हामी सुदूरपश्चिम बासिको एउटै माग गेटामा विश्वविद्यालय स्थापना होस् । गोदावरीमा राजधानी बनाउने भन्ने हो ।’