मास्टर डिग्री पढेकालाई मात्र रास्वपाले केन्द्रीय विभाग र पदाधिकारीमा राख्ने ,बझाङ जिल्ला संयोजकको निलम्बन फुकुवा


काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड तय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागका प्रमुखसहित पदाधिकारी, प्रदेश र गाउँपालिकाका प्रमुख तथा पदाधिकारी सदस्यका लागि योग्यता निर्धारण गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

प्रवक्ता ढकालका अनुसार तोकिएको मापदण्डमा केन्द्रीय विभागको पदाधिकारी, सदस्य र प्रदेश विभागको प्रमुख हुन कम्तीमा पनि स्नातकोत्तर गरेको हुनुपर्ने वा दश वर्ष सम्बन्धित विषयको अनुभव भएको अथवा सम्बन्धित विषयमा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तय गरेको छ ।

त्यस्तै प्रदेश विभागको पदाधिकारी वा सदस्यको हकमा कम्तीमा स्नातक गरेको वा ५ वर्षे अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी पालिका विभाग प्रमुखमा पनि सोही कुरा लागु हुनेछ । पालिका पदाधिकारी वा सदस्यहरूको हकमा भने कम्तीमा प्लस टु अध्ययन गरेको हुनुपर्ने वा दुई वर्षको अनुभव चाहिने मापदण्ड तोकेको छ ।

यसअघि प्रदेश समितिका सदस्य, प्रमुख पदाधिकारी हुने कुरा जटिलता भएकाले पछिल्लो निर्णय लागु गर्ने जान्नेलाई छान्ने नीति लिएको नेता ढकालले बताएका छन् ।

बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली समेत पारित गरेको छ । जसमा आयोगको काम कर्तव्य र अधिकार समेटिएको छ । बैठकले रुपन्देहीका पार्टी सदस्य दामोदर भण्डारी कुटपिटमा मुछिएपछि ३ महिना कुनै जिम्मेवारीमा नरहनेगरी ३ महिनाका लागि निलम्बन गरेको छ भने बझाङका जिल्ला संयोजकको निलम्बन फुकुवा गरेको छ । साथै पार्टीका दस्ताबेज निर्माणमा संलग्न १७ जना गाउँ जाने र १५ दिनका लागि गाउँ जाँदा लाग्ने खर्च पार्टीले बेहोर्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0