छिमेकी नगरपालिका कृष्णपूर पछि गोदावरी नगरपालिकाले पनि लालपुर्जा वितरणको तयारी गर्दै


अत्तरिया : कञ्चनपूरको कृष्णपूर नगरपालिका पछि कैलालीको गोदावरी नगरपालिकामा पनि जग्गा धनी पुर्जा (लालपुर्जा) वितरणको तयारी हुनेभएको छ । हाल जग्गा नापीको काम भइरहेको गोदावरीमा संगसंगै लालपुर्जा वितरणका लागि पनि काम थालिएको हो । राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले गोदावरीमा यसै महिना भित्र भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई लालपुर्जा वितरणको काम सुरु गरिने मिडियालाई बताए ।
उपाध्यायले भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई लालपुर्जा वितरणका लागि अन्तिम पटक ७ दिने सूचना प्रकाशित भइसकेको बताए । उनले गोदावरीका वडा नम्बर १ र ५ का भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई लालपुर्जा वितरण गरिने बताए ।

भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई निःशुल्क रुपमा लालपुर्जा वितरण गरिने उनले बताए । उनले गोदावरी संगै घोडाघोडी, भजनीमा पनि भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको बताए ।

कैलालीको बर्दगोरीयामा शनिबार मात्रै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठको प्रमुख आतिथ्यमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई लालपुर्जा वितरण गरिएको थियो । त्यसअघि लम्कीचुहा नगरपालिका र धनगढी उपमहानगरपालिकामा केही भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई लालपुर्जा वितरण गरिसकिएको छ ।

हाल गोदावरीका वडा नम्बर १, २, ४ र ५ मा नापीका काम सकिएको र वडा नम्बर ३ मा नापीको काम सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले बताएका छन ।

गोदावरीमा हाल संकलन गरिएको लगत अनुसार अव्यवस्थित वसोवासीको संख्या ११ हजार ७ सय, भुमीहिन दलितको संख्या १ हजार ३४६ र भूमिहिन सुकुम्बासीको संख्या १ हजार ५३ रहेको छ । नगरमा हालसम्म ८ हजार ३४ कित्ता जमिन नापजाँच भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0