जबरजस्ती करणीमा परेकी अस्मिको न्यायको माग गर्दै अत्तरियाका युवाले गरे १ घण्टा चक्काजाम
अत्तरिया : जबरजस्ती करणीमा परेर देहत्याग गरेकी अस्मि बोहराको न्यायका लागि अत्तरियाका युवाहरुले १ घण्टा चक्काजाम गरेका छन। गोदारी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी १८ वर्षीया अस्मि बोहरा जबरजस्ती करणीमा परेपछि यही असार ९ गते देहत्याग गरेकी थिइन्।
अस्मिले आफ्नो प्राण आफै परित्याग गरेकी हुन्। यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको छ। अस्मिकोे न्यायका लागि आफन्त र युवाहरुले अत्तरियामा प्रदर्शन गर्दै आएका छन्। असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अस्मिलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै आज पनि आफन्त तथा युवाहरुले अत्तरियाकाे ईलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
नेपालगंजमा अध्ययनरत अस्मिमाथि नेपालगंजमै जबरजस्ती करणी भएको र कसैलाई बताएपछि ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर देहत्याग गरेको आफन्तको आरोप छ। प्रहरीले अस्मिको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका–३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ।