फरार रहेका शिव शिखर सहकारीका संस्थापक अध्यक्ष शर्मा भारतकाे मुम्बईवाट पक्राउ
हेमराज अवस्थी /अत्तरिया : १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष केदारनाथ शर्मा भारतकाे मुम्मबई वाट पक्राउ परेका छन्।
शर्मालाई मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरेको हो। उनलाई सीआईबीले सोमबार नेपाल ल्याएको छ। भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएको सूचना पाएपछि सीआईबीले भारतीय प्रहरीको समन्वयमा शर्माको खोजी तीव्र पारेको थियाे ।
शर्मामाथि सहकारीका बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। बचत तथा मुद्दती खातामा जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम फिर्ता नपाएको भनी निक्षेपकर्ताले जाहेरी दरखास्त दिएपछि सीआईबीले शर्मामाथि अनुसन्धान सुरु गरेको थियो।
शिवशिखर सहकारीका सुदुरपश्चिमको कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटीमा पनि शाखा कार्यलय रहेका छन्।
सहकारीको पैसा उनले आफ्ना कम्पनीमा लगानीसमेत गरेका थिए । प्रहरीका अनुसार शिखर अर्गनाइजेसनमार्फत शर्मादम्पतीले आफ्नो नाममा दर्ता गरिएका तीन दर्जन कम्पनी स्थापना गरी सहकारीको पैसा त्यसमा लगानी गरेका थिए । सो अर्गनाइजेसनअन्तर्गत शिव शिखर खाद्य उद्योग, शिखरदीप फुड इन्ड्रस्टिज, गोरखा टी एन्ड कफी, गोरखा बेभरेज, तुलसी मोटरपम्प, त्रिवेणी आयल एन्ड फ्लोर, शिखरदीप एग्रो, शिव शिखर एग्रो, नटराज एग्रो कम्पनी सञ्चालन गरिएको थियो । त्यस्तै, गार्डेन मार्ट, टेक्नो डाउन, शिव शिखर एग्रो अनुसन्धान केन्द्र, नेपा शिखर अर्गनाइजेसन, न्यु गोल्डेन, एभरेस्ट, शिखर इलेक्ट्रोनिक्स एन्ड अटोमोबाइल्स, उपकार गार्मेन्ट, शिव शिखर खाद्य उद्योग, आधुनिक शिवशक्ति कृषि अनुसन्धान केन्द्र, डिजिटल शिखर प्रालि, हिमालयन लायन कन्सट्रक्सन एन्ड मल्टिसोलुसन प्रालि, काइन्डल्ली केयर इन्डस्ट्री, शिव शिखर इन्भेस्टमेन्ट, उपकार हाइड्रो एन्ड इनर्जी, उपकार मिडिया, उपकार आयल इन्डस्ट्रिज र तुलसी एग्रो सञ्चालन गरिएको थियो । यीमध्ये केही बन्द भइसकेका छन् भने केही सञ्चालनमा छन् ।