गन्यापधुरा गाउँपालिकाले ल्यायो ३५ करोड ४९ लाखको बजेट, गाउपालिकाले गर्याे सुखी र समृद्ध गाउँपालिका बन्ने दावी


डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३५ करोड ४९ लाख १४ हजारको बजेट ल्याएको छ । आइतबार १६ औं गाउँसभामा गाउँपालिकाकि उपाध्यक्ष ज्ञानु सेटी देउवाले बजेट प्रस्तुत गरेकी थिईन।

३५ करोड ४९ लाख १४ हजार १ सयको बजेटमा चालुतर्फ २३ करोड ८७ लाख ३६ हजार १ सय र पूँजीगततर्फ ११ करोड ६१ लाख ७१ हजार विनियोजन गरिएको गन्यापधुरा ३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता चक्र देउवाले बताए।

गाउँपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ७ करोड ७२ लाख , वित्तीय समानीकरण प्रदेशबाट ५८ लाख ७८ हजार, राजश्व बाँडफाँड संघबाट ७ करोड ५५ लाख ३३ हजार १ सय र प्रदेशबाट १७ लाख ५३ हजार प्राप्त हुने अनुमान गरेको छ ।

यस्तै सशर्त अनुदान संघबाट १६ करोड ९९ लाख र प्रदेशबाट ७९ लाख ५० हजार, विशेष अनुदान संघबाट ७० लाख, समपुरक अनुदान संघबाट ५० लाख र आन्तरिक आयबाट ४७ लाख संकलन हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ३८ करोड ३ लाख २८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चालु आवभन्दा आगामी आर्थिक वर्षमा गाउँपालिकाले २ करोड ५४ लाख रुपैया कम बजेट ल्याएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको स्रोत साधनको उच्चतम उपयोगले नागरिकको जिवनस्तर सुधार हुनुको साथै सुखी र समृद्ध गाउँपालिका निर्माणको अभियानमा सहयोग पुग्ने उपाध्यक्ष सेठी देउवाले वजेट भाषणमा वाेल्दै वताईन ।