सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो सवा २९ अर्बको बजेट
अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ लागि सवा २९ अर्बको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको विनियोजन गरेको जानकारी दिएका हुन् । यो चालू आर्थिक वर्षभन्दा झण्डै साढे ७ अर्ब कम हो । चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरिएको थियो ।
मन्त्री शाहीले चालू खर्चतर्फ कुल विनियोजित बजेटको ३२ दशमलव ७९ प्रतिशत हुनेगरि ९ अर्ब ५९ करोड र पूँजीगत खर्चतर्फ १७ अर्ब २ करोड २३ लाख विनियोजन गरिएको बताए । पुँजीगततर्फ कुल विनियोजित बजेटको ५८ दशमलव १६ प्रतिशत छुट्याइएको छ । वित्तिय हस्तान्तरणतर्फ २ अर्ब ३४ करोड ७५ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट १ अर्ब ५० करोड, चालू आर्थिक बर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ३ अर्ब ८६ करोड, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब ४१ करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ८ अर्ब ५२ करोड, सशर्त अनुदानबाट ४ अर्ब ५१ करोड र संघीय रोयल्टीबाट ६ करोड ५६ लाख रकम परिचालन गरिने मन्त्री शाहीले बताएका हुन। प्रदेश सरकारले सर्वाजनिक गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न ३ करोडका दरले बजेट विनियोजन गरिएको छ ।
यसबाहेक अघिल्ला आर्थिक वर्षमा सञ्चालन भएका प्रदेश गाैरवका योजनालाई निरन्तरता दिइएको छ । डडेल्धुरा र बाजुरामा बस्ती विकास परियोजना पनि सञ्चालन गरिने आर्थिक मामिलामन्त्री शाहीले जानकारी दिएका छन् । डडेल्धुराको महाभारत र अछामको रामारोशन क्षेत्रलाई प्रदेश संरक्षण क्षेत्र घोषणा गरी एकीकृत संरक्षण तथा विकास योजना तयार पारिने योजना पनि बजेटमा अटाएको छ । यस्तै उर्जा, सिंचाई र नदी नियन्त्रणतर्फ २ अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ भने सडक र पुलका लागि ५ अर्ब ६८ करोड, खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले ५ वर्षभित्र सुदूरपश्चिम लाई दलहनमा आत्मनिर्भर बनाउने बजेटमार्फत जानकारी दिएको छ ।