गेटामा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको जनस्तरवाट होर्डिङ बोर्ड राखियो ।
अत्तरिया : कैलालीको गेटामा जनस्तरबाट शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नामाकरण गरिएको होर्डिङ बोर्ड राखिएको छ । शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले बिहिबार मुल गेटमा होर्डिङ बोर्ड राखेको हो ।
निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजलाई सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सोही अनुसार जेठ ५ गतेको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको भएपनि जेठ १५ गते संसदमा पेश गरिएको बजेटमा गेटामा शहिद दशरथचन्द स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएको थियो ।
बजेटमा प्रतिष्ठान बनाएर १०० बेडको अस्पताल संचालन गर्ने भनिएपछि संघर्ष समितिले बिरोध स्वरुप शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नामाकरण गरिएको होर्डिङ बोर्ड राखेको हो । होर्डिङ बोर्ड राख्नु अघि संघर्ष समितिले अत्तरिया चोकबाट बाजागाजा सहित -याली निकालेको थियो । उक्त -यालीले नै गेटामा पुगेर होर्डिङ बोर्ड राखेको थियो ।
संघर्ष समितिले मन्त्रिपरिषदको निर्णय अनुसार गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापना गरेर ६ सय शैय्याको अस्पताल संचालन गर्नुपर्ने माग गर्दै आइरहेको छ ।