रेशम चौधरी कारागारबाट छुटे
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् ।
मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।
यसपटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।
२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
त्यस घटनाको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो । सोही घटनाको योजनाकारका रुपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो ।
घटनाको योजनाकारको आरोप लागेका रेशम चाैधरी त्यसपछि भूमिगत भएका थिए ।