सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ कोरोना र डेंगु संक्रमित एक युवकको मृत्यु


धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंगुबाट संक्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

अस्पतालको भेन्टिलेटरमा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए।

नशासम्बन्धी रोगको उपचार गराउन अस्पताल भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो।

त्यसको दुई दिनपछि फेरि नमुना जाँच गराउँदा डेंगुको समेत संक्रमण देखिएपछि थप उपचारका लागि संक्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए। अस्पतालमै गत चैत २५ गते उनको नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ।

यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको थियो।
सुदूरपश्चिम प्रदेशमा गत चैतदेखि कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। संक्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ। भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो।

खासगरी सीमानाका हुँदै भारतबाट भित्रिने अधिकांशमा कोरोना संक्रमण देखिने गरेको छ। कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको संक्रमण अझै बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।

कोरोना भाइरसको समस्या देखिएयता बीचमा झण्डै एक वर्षसम्म सुदूरपश्चिममा यो रोगका कारण हुने मृत्युदर शून्य थियो। संक्रमण बढ्न थालेपछि कोरोना भाइरसविरुद्धको बुस्टर डोज९खोपको मात्रा० स्वास्थ्य संस्थामार्फत् लगाउन थालिएको छ। (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0