धनगढी वडा नं.२ मा २० करोड ८४ लाख लगानीमा भयो फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण


धनगढी  : कुहिने फोहोरमैला व्यवस्थापनको उद्देश्यसहित धनगढी उपमहानगरपालिका–२, दक्षिण बेहडीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको छ। २० करोड ८४ लाख रुपियाँ लगानीमा फोहोरमैला व्यवस्थापन केन्द्र (वास्टे टु इनर्जी प्रोजेक्ट) निर्माण गरिएको हो।

धनगढी उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाइ शाखा प्रमुख अशोक अवस्थीका अनुसार त्रिपक्षीय लगानीमा फोहोरमैला व्यवस्थापन केन्द्र बनेको हो। धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराएको हो। केन्द्र निर्माणमा एसियाली विकास बैङ्क वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ४० प्रतिशत र निजी क्षेत्र देव फार्म हाउसका सञ्चालक रविनकान्त पन्तको ६० प्रतिशत लगानी रहेको छ।

निजी क्षेत्रका पन्तले २० वर्षसम्म फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गरेर त्यसपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने अवस्थीले बताए। बीस वर्षपछि सो केन्द्र उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ। फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा एडीबी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आठ करोड ३३ लाख ६० हजार रुपियाँ अनुदान लगानी गरेको छ। यस्तै निजी सञ्चालकको १२ करोड ५० लाख ४० हजार रुपियाँ लगानी रहेको छ। त्रिपक्षीय लगानीको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भई फोहोर प्रशोधनको तयारीमा रहेको प्रमुख अवस्थीले बताए ।
फोहोरमैला व्यवस्थापन केन्द्रमा नगरपालिकाबाट सङ्कलित फोहोरका साथै कृषि, औद्योगिक र वनका फोहोरमैला व्यवस्थापन गर्न सकिने जनाइएको छ। तर, सेफ्टी ट्याङ्की र अस्पतालबाट निस्कने फोहोर यसमा व्यवस्थापन गर्न मिल्दैन। यसैगरी अम्लीयपन भएको कुहिने फोहोरमैला पनि व्यवस्थापन गर्न मिल्दैन। यो फोहोरमैला व्यवस्थापन केन्द्रमा दैनिक ३० टन फोहोरमैला प्रशोधन गर्न सकिने सञ्चालक रविनकान्त पन्तले बताए। उनका अनुसार यो परिमाणमा फोहोरमैला प्रशोधन गरिएमा दैनिक एक सय सिलिन्डर खाना पकाउने एलपी ग्यास उत्पादन हुनेछ।

यसैगरी ३.५ टन कम्पोस्ट र १.५ टन झोल मल उत्पादन हुनेछ। फोहोरमैला व्यवस्थापन केन्द्रलाई चाहिनेमध्ये करिब दुई टन फोहोरमैला नगरपालिकाले दिने जनाइएको छ। प्लास्टिकमुक्त अभियान थालेको धनगढी उपमहानगरपालिकाले यसैका लागि घरभित्र र बाहिरको फोहोरमैला बजार क्षेत्र र टोल–टोलमा सङ्कलन गर्ने अभियान थालिसकेको छ। फोहोरमैला व्यवस्थापन केन्द्रलाई दैनिक पाँच टन गोबर पनि चाहिने जनाइएको छ।

यसैगरी तीन टन कुखुराको मल विवेक पोल्ट्री फर्मले दिने पन्तले बताए। उनका अनुसार एक वर्षसम्म फोहोरमैला व्यवस्थापन केन्द्रको परीक्षणकाल रहनेछ। उनका अनुसार यसलाई सञ्चालन गर्नुभन्दा पहिले डाइजेस्टर पूरै गोबरले भर्नुपर्छ। अहिले गोबर भर्ने कार्य लगभग सकिएको छ। अब परीक्षण उत्पादन सुरु हुन्छ। सुरुमा गोबर मात्रै प्रशोधन नगरेसम्म यसमा फोहोरमैला प्रशोधन गर्न नपाइने जनाइएको छ।

धनगढी उपमहानगर क्षेत्रभित्रको कुहिने फोहोरमैलाले मात्रै फोहोरमैला व्यवस्थापन केन्द्रको प्रशोधन प्लान्ट नभरिएमा अन्य क्षेत्रबाट पनि फोहोरमैला किन्न सकिने धनगढी उपमहानगरपालिकाको कार्यालयले जनाएको छ। “यसलाई धेरै फोहोरमैला चाहिन्छ। त्यस्तै परयो भने जिल्लाको अन्य क्षेत्रबाट पनि फोहोरमैला किनेर ल्याउनु पर्ने हुन्छ,” प्रमुख अवस्थीले भने।

यसैगरी धनगढी उपमहानगरपालिकाले नकुहिने फोहोरमैला व्यवस्थापनका लागि वडा नम्बर ३ मा ‘माइक्रो सेग्रिगेसन सेन्टर’ सञ्चालन गर्ने तयारी गरेको छ। सङ्कलन भएका नकुहिने फोहोरमैलामध्ये प्लास्टिक, सीसा, बोतल छुट्याउने र पुनः प्रयोगका लागि बिक्री गरिने अवस्थीले बताए। “त्यसबाहेक १०/१५ प्रतिशत कुनै काम नलाग्ने फोहोर निस्किन्छ। त्यसलाई त्यही डम्पिङ गर्छौं।” एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण नभएसम्म नकुहिने फोहोर सेग्रिगेसन सेन्टरमा व्यवस्थापन गरिने जनाइएको छ। धनगढी उपमहानगरपालिकाले एडीबीको सहयोगमा एकीकृत फोहोरमैला व्यवस्थापनका लागि वडा नम्बर ७ को पटेलामा ठाउँ छनोट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0