पश्चिम सेतीको २८ वर्ष पछि भारतीय कम्पनीले पुनः अध्ययन गरि डिपीआर बनाउने


धनगढीः भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडले पश्चिम सेती जलविद्युत आयोजनाको प्रारम्भिक (इन्सेप्सन) प्रतिवेदन लगानी बोर्ड नेपाललाई बुझाएको छ। लगानी बोर्ड नेपालले प्रतिवेदन अध्ययन गर्दैछ। प्राम्भिक प्रतिवेदन स्वीकृत भएपछि विस्तृत अध्ययन गरिने छ। पश्चिम सेती जलविद्युत आयोजनाको २८ वर्ष पहिले अध्ययन गरिएको भएपनि भारतीय कम्पनीले फेरि अध्ययन गर्ने भएको हो।

प्रतिवेदनमा आयोजनाको सम्भाव्यता अध्यययन गर्न विधिहरु प्रस्ताव गरिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए। उनले भने, ‘प्राम्भिक प्रतिवेदन हामीले स्वीकृत गरेपछि उसले विस्तृत अध्ययन गर्छ। प्राविधिक मुल्याँकन समितिले हेर्दैछ। आर्थिक, सामाजिक, वातावरणीय लगायत पक्षको अध्ययन थालिएको छ।’ परियोजनाको उपयुक्त ढाँचाको बारेमा अध्ययन गरिनेछ। अध्ययन पहिले पनि भएको हो। २८ वर्ष पहिले र अहिलेको अवस्था फरक छ।’

अबको २१ महिनाभित्र एनएचपीसी इन्डिया लिमिटेडले परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन दिने कार्यतालिका छ। लगानी बोर्ड नेपालका कार्यकारी अधिकृत भट्टका अनुसार भौगोरिक अवस्था, सामाजिक व्यवस्थापनको योजना, वातावरणीय अध्ययन लगायतको काम गरिने छ। ‘पहिलो प्राम्भिक प्रतिवेदन स्वीकृतपछि मात्र बाँकी काम सुरु हुने कार्यतालिका दिएका छौँ। दुई वर्षमा डिपीआर बुझाउछ। परियोजना स्वीकृत भएपछि लगानीको कुरा आउछ। हामी छिटो काम गर्ने पक्षमा छौँ,’ भट्टले भने। तर पश्चिम सेतीका लागि आवश्यक आधारभूत पूर्वाधारको भने अभाव देखिएको छ।

पश्चिम सेती जलविद्युत आयोजना स्थलमा सव–स्टेसन, राष्ट्रिय प्रसाण लाइन तथा कैलालीको लम्कीदेखि बरेलीसम्म अन्तराष्ट्रिय प्रसारण लाइन विस्तारको कामसमेत गर्नुपर्ने भएको हो। लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले आधारभूत पूर्वाधारको काम पनि सुरु हुने बताए। उनले भने, ‘आधारभूत पूर्वाधारको काम पनि अगाडि बढ्दैछ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले बल्लेखदेखि लम्कीको प्रसारण लाइन, बझाङमा सब–स्टेसन, लम्कीमा सब स्टेसन, लम्कीदेखि बरेलीको अन्तरदेशीय प्रसारण लाइन बन्छ।’ गत भदौ २ गते भारतीय कम्पनी एनएचपीसीले विना प्रतिस्पर्धा एकैसाथ २ कम्पनीको सर्वेक्षण अनुमति पाएको थियो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा पश्चिम सेती ९७५० मेगावाट र सेती नदी – ६ को ९४५० मेगावाट आयोजनाको विकासका लागि एनएचपीसीले लगानी बोर्ड नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। कम्पनीले पश्चिम सेतीको बिजुली बिक्री गर्न भन्दै पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियासँग एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरिसेकको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0