९ वटा बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही, चार वटालाई ५०/५० लाख जरिवाना


काठमाण्डौं : नेपाल राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम पालनामा लापरवाही गरेको र अन्य नियमहरू पालना नगरेको भन्दै कारवाही गरेको छ।

प्रभु, कुमारी, तत्कालिन बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई), प्राइम कमर्सियल सम्पत्ति शुद्धीकरणमा गम्भीर लापरवाही गरेको भन्दै प्रति बैंक ५० लाख रुपैयाँको दरमा जरिवाना गरिएको छ।

अन्य नियमहरू पालना नगरेको आधारमा माछापुच्छ्रे , सानिमा, तत्कालिन नेपाल इन्भेष्टमेन्ट (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), सिभिल बैंक र नबिल बैंकलाई कारबाही गरेको हो। यी बैंक तथा यसका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको हो।

माछापुच्छ्रे बैंकले पुँजी कोष पर्याप्तता अनुपातको यथार्थ विवरण पेश नगरेको, सानिमा बैंकले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको, नबिल बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था अनुसार ग्राहक पहिचान विवरणमा लापरबाही गरेको भन्दै कारबाही गरिएको हो।

प्रभु बैंकलाई भने कर्जा सूचना र कालो सूची सम्बन्धमा नियम पालना नगरेको कारणमा पनि सचेत गराइएको छ।

त्यस्तै, माछापुच्छ्रे, तत्कालीन नेपाल इन्भेष्टमेन्ट र सिभिल बैंकलाई ग्राहकसँगको एक पटकको सम्झौतापछि प्रिमियम थप्ने वा डिस्काउन्ट गर्ने गरिएको आधारमा कारबाही गरिएको हो। साभार ः सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0