नवौ गोदावरी नगरसभामा यस्ता कुरा उठाए नगरसभा सदस्यहरुले


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको नवौं नगरसभामा नगरसभा सदस्यहरुले नगरका बिभिन्न समस्याहरुका बारेमा आफ्ना धारणा राखेका छन् । नगरसभा सदस्यको हैसियतमा बोलेका ७ वडा सदस्य, १ कार्यपालिका सदस्य र ४ वडाअध्यक्षले वडा र नगरका समस्याका बारेमा नगरसभामा आफ्ना धारणा राखेका छन ।

३ मिनेट समय पाएर बोलेका नगरसभा सदस्यहरुले नगर शिक्षकका समस्या सामाधान हुनुपर्ने, सुशासन कायम गर्नका लागि कर्मचारीले भूमिका खेल्नुपर्ने, सबै वडामा समान विकास गर्नुपर्ने, अटेरी ड्राइभर हटाउनु पर्ने लगायतका माग नगरसभाको अध्यक्षता गरिरहेका नगरप्रमुख बिरेन्द्र भट्ट समक्ष राखेका थिए ।
गोदावरी नगरपालिका – १२ का वडा अध्यक्ष भीम खड्काले नगरसभा नगरको पाल्र्यामेन्ट भएकाले यहाँ कुनै पनि ऐन नियम बनाउँदा गम्भिर छलफल हुन आवश्यक रहेको बताए । उनले समग्र नगरको विकासका लागि नगरका गौरवका आयोजना बनाउन आवश्यक रहेको बताए ।

‘विगतकै निरन्तरतालाई मात्रै अगाडी बढाउनु भन्दा नयाँ योजना ल्याउन आवस्यक छ’ उनले भने ‘१२ वटै वडालाई समेट्ने गौरवका योजना बनाउन आवश्यक छ ।’ उनले नगरपालिकालाई कृषि तथा घरेलु उद्योगको हव बनाउन आवश्यक रहेको बताए । नगर शिक्षकका समस्या सामाधान गर्न आवश्यक रहेको बताउँदै उनले नगरबाट सुशासन कायम गर्नका लागि कर्मचारी व्यवस्थापन आवश्यक रहेको बताए ।

वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) ले नगरमा भएका अटोरिक्साको नियमन संगै उनीहरुका समस्यालाई पनि ध्यानमा राखेर अगाडी बढ्न आवश्यक रहेको बताए । उनले नगरको विकासका लागि यस क्षेत्रमा संचालित उद्योगमा कर सुन्य नीति ल्याउन आवश्यक रहेको बताए ।

शाहीले स्वास्थका कर्मचारीको सम्मान गरिनुपर्ने बताउँदै शिक्षामा राजनीति गर्नेलाई लात हान्न आवश्यक रहेको धारणा राखे । उनले जनप्रतिनिधिकै भनेको नमान्ने मालाखेती अस्पतालका एम्बुलेन्स चालक ९ड्राइभर० लाई तत्काल हटाउर्ने समेत बताए ।

वडा नम्बर ३ का वडा अध्यक्ष तेज राज अवस्थीले नगरपालिकाले छाडा चौपायाको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताए । उनले आफ्नो वडामा अझै पनि बिजुलीको समस्या रहेकाले त्यसको सामाधानका लागि नगरको पहल आवश्यक रहेको बताए ।

नगरमा कित्ताकाटको काम रोकिदा राजश्व गुम्दै गएकाले यो समस्यालाई समाधान गर्न पनि नगरपालिकाले आवश्यक कदम चाल्नुपर्नेमा अवस्थीको जोड रहेको थियो ।

वडा नम्बर ५ का वडाध्यक्ष शुद्धिराम चौधरीले नयाँ ऐन बनाउने मात्रै नभएर पुराना बनेका ऐनको कार्यान्वयन र समिक्ष गर्न आवश्यक रहेको बताए । उनले विकास निर्माणका काम गर्दा सबै वडालाई समान रुपमा हेर्न आवश्यक रहेको बताए ।

कार्यपालिका सदस्य डम्मरी साहुले कार्यपालिकाको बन्द सत्रका क्रममा वडाहरुमा भएका समस्या सामाधानका उपायका बारेमा छलफल हुने बताईन् ।

वडा ११ का वडा सदस्य कुमार बडैलाले सबै वडामा फोहर मैला व्यवस्थापनका लागि काम गरिनुपर्ने बताए । उनले सबै वडामा सडक बत्तीको पनि व्यवस्था गरिनुपर्नेमा र सवै वडामा समान हिसावले हेर्नु पर्नेकुरामाजोड दिएका थिए ।

वडा ९ का वडा सदस्य उद्ध्भ भट्टराईले आठौं नगरसभाको समिक्षा हुनपर्ने माग गरे । उनले नगर शिक्षकका बारेमा आठौं नगरसभामा गरिएको निर्णय किन कार्यान्वयन गरिएनन् भन्दै प्रश्न समेत राखेका थिए ।

वडा नम्बर ८ का वडा सदस्य हरि राम चौधरी ऐन राम्रो संग अध्ययन गरेर मात्रै पास गरिनु पर्ने बताए । वडा नम्बर ७ का वडा सदस्य चेत बहादुर ऐरले भत्केको बाटो निर्माणमा नगरको ध्यान नपुगेको मगरटोलमा डुवानको समस्या जस्ताको तेस्तै रहेको गुनासो पोखेका थिए ।

वडा नम्बर २ का वडा सदस्य डबल साउदले वडामा चरम समस्याको रुपमा रहेको छाडाचौपाया र डुबानको समस्या सामाधान गर्न नगरको ध्यान जान आवश्यक रहेको बताए । वडा ४ का वडा सदस्य शेर ब घर्तिमगरले गोदावरी धाममा हुने कुम्भ मेला नगरपालिकाले नै आयोजना गर्नुपर्ने माग गरे । वडा नम्बर १ का वडा सदस्य गम्भीर साउद र वडा नम्बर ६ का वडा सदस्य दिपक कठायतले पनि आ– आफ्ना वडामा भएका समस्याका बारेमा धारणा राखेका थिए ।

नगरसभाको उद्घाटन सत्रमा आफ्ना धारणा राख्दै नगर उपप्रमुख सारदा रोकायाले नगरले बनाएका योजनाका फाइल खोज्दा नभेटिने समस्या भएको बताइन् । उनले कर्मचारीहरुलाई योजनाका फाइल जनताले खोजेको समयमा भेटिने गरी सम्वन्धीत शाखाहरुले राख्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0