निर्माण सम्पन्न नहुदै भासिन थाल्यो मोहना पुल–अत्तरिया ६ लेन सडक


अत्तरिया : धनगढीस्थित मोहना पुल(अत्तरिया ६ लेन सडकखण्ड निर्माण नसकिंदै भासिन थालेपछि दुर्घटनाको जोखिम बढेको छ । कुल १४ किलोमिटर १९७ मिटर लम्बाइ रहेको मोहना पुल–अत्तरिया ६ लेन सडक ठाउँ–ठाउँमा भासिएका कारण दुर्घटनाको जोखिम बढेकोमा सडक मर्मत सम्भारमा भने कुनै निकायले चासो लिएको देखिंदैन ।

विशेषगरी ६ लेन सडक कालोपत्रेको काम पूरा भएपनि अन्य संरचनाको निर्माण नसकिएका बेला योजना कार्यालय भंग भएपछि मर्मत सम्भारको काममा अन्योलता थपिएको थियो तर सरकारले अहिले महाकाली पुल योजना कार्यालयले हेर्नेगरी जिम्मा दिएको छ ।

महाकाली पुल योजना, फिल्ड कार्यालय धनगढीका इन्जिनियर सन्तोष चन्दले दोस्रो प्याकेज अन्तर्गत लुम्बिनी–राजेन्द्र जेभीले निर्माण गरेको गेटादेखि बोराडाँडीसम्मको एउटा लेनमा सडक ठाउँ–ठाउँमा भासिएको पाइएको बताए । सतह भासिएको मात्र नभएर केही ठाउँमा त कालोपत्रे उप्किएर सडक भत्किएपछि स–साना खाल्डा समेत परेका छन् ।

इन्जिनियर चन्दकाअनुसार कालोपत्रेको काम सकिएको दुई वर्षमै सडकको एउटा लेनतर्फ धेरै ठाउँमा भासिएपछि लुम्बिनी–राजेन्द्र निर्माण सेवालाई पुनः कालोपत्रे गर्न कार्यालयले निर्देशन दिइसकेको छ तर अहिले चिसोका कारण काम गर्न नसकिने बताउँदै निर्माण व्यवसायी भीमबहादुर साउँदले फागुनमा मर्मत गर्ने प्रतिबद्धता जनाएका छन् ।
काम सकिएको छोटो समयमै सडक भासिएपछि निर्माणका क्रममा कमसल सामग्रीको प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ ।अत्तरियाबाट धनगढीतर्फ आउने लेनमा सडक भासिनुको कारण हेबी सवारीसाधनको आवात जावत पनि भएको प्राविधिक बताउँछन् ।

२०७४ सालमा दुई वर्ष भित्र निर्माणको काम पूरा गर्नेगरी तीन चरणमा ठेक्का सम्झौता गरिएको थियो । पहिलो खण्डको काम शर्मा अमर नार्गाजुन जेभी, दोस्रो र तेस्रो खण्डको काम लुम्बिनी राजेन्द्र जेभीले लिएपनि भौतिक संरचना हटाउन ढिलो हुँदा निर्धारित समयमै काम अघि बढ्न सकेन । त्यस पछि पनि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलासुस्ती हुँदै आयो भने सरकारले पटक–पटक म्याद थप्दै आएको छ ।

कुल एक अर्ब ८३ करोडमा ६ लेन सडक निर्माणका लागि ठेक्का लगाइएको थियो । हालसम्म एक अर्ब ६४ करोड खर्च भइसकेको छ भने रेलिङ र मार्किङकको काम गर्न बाँकी छ । सोही कारण सडक कालोपत्रेको काम सकिएपनि निर्माण व्यवसायीले सडक विभागलाई हस्तान्तरण नगरेको बताइएको छ । असोज मसान्तमा मोहनापुल–अत्तरिया ६ लेन सडक कार्यालयको समयावधि सकिएपछि कात्तिकदेखि महाकाली पुल योजना कार्यालयले हेरिरहेको छ ।

महाकाली पुल योजना कार्यालयकाअनुसार ६ लेन सडकमा तीन वटा मोटेरेवल पुल र ६ वटा आकाशे पुल पनि निर्माण हुनेछन् । मोटेरेवल पुल सडकको ठेक्का पाएका निर्माण व्यवसायीले जिम्मा पाएर काम थालिसकेका छन् भने आकाशे पुल ठेक्काको चरणमा रहेका छन् ।

धनगढीको मोहना नदी, सुनीखोला र गोदावरी नगरपालिकाको मनहरा नदीमा मोटेरेवल पुल निर्माण भइरहेका छन् । धनगढीको मिलन चोक, चौराह, शहीदगेट, राजपुर, गेटा र अत्तरियामा आकाशे पुल निर्माण गरिने महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0