धनगढी र गोदावरी नगरपालिकाभित्र सञ्चालित मापदण्ड विपरीत चारवटा क्रसर उद्योगमा प्रतिबन्ध


अत्तरिया : कैलालीको धनगढी र गोदावरी नगरपालिकाभित्र सञ्चालित चारवटा क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिबन्ध लगाएको छ। गोदावरीमा रहेको कालिका कन्स्ट्रक्सन, धनगढी उपमहानगरपालिका–११ मा रहेको उच्चाकोटी आरएससी एण्ड ईन्जिनियर्स, बेहडावाना बालुवा प्रशोधन उद्योग र शिवशक्ति बालुवा प्रशोधन केन्द्र गोदावरीलाई क्रसर तथा बालुवा प्रशोधन सञ्चालनमा रोक लगाइएको हो।

घरेलु तथा साना उद्योग कार्यालय कैलालीका अनुसार जिल्लामा १० वटा क्रसर उद्योग र दुईवटा बालुवा प्रशोधन उद्योग दर्ता भएका छन्। घरेलुमा दर्ता भएका १२ वटा उद्योगमध्ये आठवटा प्रालिमा गई कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका छन् भने चारवटा निजी फर्मका नाममा दर्ता भएका छन्। ती उद्योगहरुको नवीकरण अभिलेख भने देखिएको छैन।

गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका अवैध क्रसर बन्द गर्न प्रशासनलाई परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले क्रसर उद्योगको अनुगमन तथा निरीक्षण गरेको थियो। गोदावरी नगरपालिका वडा नम्बर ११ मा रहेको शिवशक्ति प्रशोधन केन्द्रले बालुवाका लागि मात्र अनुमति लिएको छ। तर, सो केन्द्रले गिट्टीसमेत प्रशोधन गर्ने गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा कालिका कन्स्ट्रक्सनले ढुङ्गा, बालुवा संकलन गरिराखेको छ। वन र खोला नजिकै नदीजन्य पदार्थ संकलन गरेर राखेको सो कम्पनीसँग अनुमति पत्र छैन। धनगढी ११ मै रहेको उच्चाकोटी आरएमसी इन्जिनियरिडसँग पनि नदीजन्य पदार्थ संकलन, ढुवानी गर्ने कागजपत्र नभएपछि सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
कैलालीमा दर्ता भएका क्रसर उद्योगभन्दा विभिन्न विकास आयोजनाबाट सञ्चालित क्रसर उद्योग बढी छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लामा विकास आयोजनाका नौवटा क्रसर उद्योग सञ्चालनमा छन्। विकास आयोजनाबाट सञ्चालित क्रसर उद्योगले सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्ने व्यवस्था भए पनि कैलालीमा सञ्चालित विकास आयोजनाहरूले क्रसर उद्योग सञ्चालनको जानकारी स्थानीय तहलाई दिएका छैनन्।
विकास आयोजनाहरूले सञ्चालन गरेका क्रसर उद्योगहरूले पनि मापदण्ड पालना गरेका छैनन्। केही विकास आयोजनाका क्रसर उद्योग नदीको किनारामा छन्। कोही मानव बस्तीको बीचमा छन्। गोदावरी नगरपालिका कैलालीमा रहेको श्रीपुर विल्डर्स प्रालिमार्फत सञ्चालि कालिका कन्स्ट्रक्सन कम्पनीको अनुगमनका क्रममा पेश भएका काजगपत्रका आधारमा अनुमति लिएर सञ्चालनमा रहेको नदेखिएकोले हाललाई सञ्चालनमा रोक लगाइएको प्रशासनले मिडियालाई बताएको छ।

त्यस्तै उच्चाकोटी आरएससी एण्ड ईन्जिनियर्स प्रालिका नामबाट सञ्चालित धनगढी उपमहानगरपालिका–११ मा रहेको क्रसर तथा बालुवा प्रशोधन उद्योगको दर्ता सम्वन्धि कुनैपनि कागजात नभेटिएको तथा भ्याटमा समेत दर्ता नभई बिना बिल विजक कारोबार गरिरहेकोले सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।

बेहडावाना बालुवा प्रशोधन उद्योगले बालुवा प्रशोधन सम्वन्धि अनुमति लिएको तर क्रसर समेत सञ्चालमा रहेको पाइएकाले हाललाई सञ्चालनमा रोक लगाइएको प्रशासनले जानकारी गराएको छ। त्यस्तै शिवशक्ती बालुवा प्रशोधन केन्द्र गोदावरी कैलालीले पनि प्रशोधन सम्बन्धि अनुमति लिएर सञ्चालनमा रहेको तर बिना अनुमति गिट्टी उत्पादन कार्य समेत गरिरहेको पाइएकाले सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0