अस्पताल निर्माण स्थलबारे विवाद हुँदा बैतडीको मेलौलीमा ३५ जना घाइते


बैतडी : अस्पतालबारे विवाद हुँदा बैतडीको मेलौलीमा ३५ जना घाइते भएका छन । आधारभूत अस्पताल निर्माणका बिषयमा वडा नम्बर १ र ७ का स्थानीयबीच विवाद भएर झडप हुँदा ३५ जना घाइते भएका छन ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै दबाब दिनका लागि वडा नं ७ का स्थानीयबासिन्दाहरुले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए ।
त्यसका विरुद्धमा वडा नं १ का बासिन्दाले बुधबार नाराबाजी गरेका थिए । उनीहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने र त्यो कार्य नगरपालिकाले अगाडि बढाउनुपर्ने माग राखेका छन् ।

बिहिबार दुवै पक्ष आमुनेसामुने हुँदा झडप भएको हो । झडपमा वडा नम्बर ७ का २५ जना घाइते भएका छन् भने उनीहरुमध्ये १० जना जति उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका छन् । वडा नं १ को समूहले आफूहरुमाथि ढुंगामुढा प्रहार गरेको उनीहरुले आरोप लगाएका छन् । वडा नम्बर १ का पनि १० जना घाइते भएका छन । तर, उनीहरु अस्पताल पुगेका छैनन् ।

अस्पताल निर्माणका बिषयमा दुवै पक्षबीच झडप भएको र घाइतेको संख्या एकीन नभएको इलाका प्रहरी कार्यालय तस्सुदेहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी सहितको टोली मेलौलीका लागि हिँडेको बताइएको छ ।

२०७० सालदेखि अस्पताल निर्माणको कुरा उठेपनि स्थानीयहरुबीच विवाद हुँदा अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन् । अस्पतालकै बिषयलाई लिएर दुवै पक्षले बेलाबेला नगरपालिकामा तालाबन्दी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0