९ देशका प्राध्यापकको उपस्थितीमा सुप विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु


हेमराज अबस्थी,धनगढीः सुदूरपश्चिम विश्वविद्यालयले पहिलोपटक आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा नौ देशका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू सहभागी भएकाछन्। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा सुदूरपश्चिम अध्ययनः सम्पदा, नवप्रवर्तन तथा रुपान्तरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु गरेको हो।

तीन दिनसम्म चल्ने सम्मेलनमा अध्ययनका विभिन्न आठ विधामा वृहत छलफल सुरु गरेको हो। झण्डै एक वर्षको तयारीपछि विश्वविद्यालयले सम्मेलन आयोजना गर्न सफल भएको विश्वविद्यालयले जनाएको छ। सुदूरपश्चिम विश्वविद्यालयलाई विश्वका अन्य विश्वविद्यालयसँग जोड्न र विविध क्षेत्रमा उत्सर्जन भएको ज्ञान तथा नवप्रवर्तनका माध्यमबाट सुदूरपश्चिमका मौलिक कुराको उजागर गर्न र नयाँ कुराको उद्घाटन गर्न सम्मेलन गरिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक अम्मराज जोशीले बताए।

सुदूरपश्चिम विश्व विद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न ९ देशका दुई सय प्राध्यापक महेन्द्रनगर आइपुगेका हुन्। ‘यहाँको विरासत, यहाँको मौलिक ज्ञानलाई प्रवद्र्धन गर्ने, नयाँ कुराको अध्ययन र अनुसन्धान गर्ने सम्मेलनको उद्धेश्य हो,’ उनले भने, ‘मौलिक कुराको उजागर गर्ने, नयाँ कुराको उद्घाटन गर्ने र शैक्षिक जगत र हाम्रा विचारहरुको रुपान्तरण गर्न सम्मेलन गरिएको हो।’

सुदूरपश्चिम विश्वविद्यालयले वेलायत–नेपाल एकेडेमिक काउन्सिल र अक्सफोर्ड विश्वविद्यालयको सामाजिक तथा साँस्कृतिक मानव विज्ञान संस्थानद्वारा सञ्चालित डीएसडी परियोजनासँगको सहकार्यमा सम्मेलन गरिएको आयोजकले छ। सम्मेलनमा नेपाल, जापान, अमेरिका, भारत, बेलायतसहितका नौ मुलुकमा विश्वविद्यालयका दुई सय प्राध्यापकको सहभागिता रहेको छ।

विश्वविद्यालयहरूले विश्वमा शासन गर्न जनशक्ति तयार गर्ने सम्मेलनका सहभागी प्राध्यापक धनप्रसाद पण्डितले बताए। विश्वभर कस्तो खालको ज्ञान उत्पादन भइरहेको छरु कुन किसिमका समस्या विद्यमान छन ? समाधानका उपायहरू के के हुन ? भनेर संसारभर विश्वविद्यालयहरूले यस्ताखाले सम्मेलन गर्ने गरेकाले सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको सम्मेलनले विश्वविद्यालयको पहुँच र गरिमा विस्तार हुने दाबी प्राध्यापक पण्डितको छ।

‘विश्वविद्यालयले विश्वमा शासन गर्नका लागि जनशक्ति तयार पार्ने हो। सुदूरपश्चिम विश्वविद्यालयले यदि विश्वस्तरीय जनशक्ति उत्पादन गर्न सक्यो भने पक्कै पनि यो क्षेत्रको विकास, देशकै विकासका लागि विश्वको विकासका लागि हाम्रो योगदान रहेको देखिन्छ,’ उनले भने, ‘यस्तो सम्मेलनले विश्वव्यापी रुपमा कस्तो ज्ञानको उत्पादन भइरहेको छ, कस्ता किसिमका समस्या देखा परेका छन्। त्योसँग कसरी जुध्ने भन्ने वौद्धिक खुराक तयार पार्न यस्ता जमघट र सम्मेलन फलदायी हुन्छन्।’

विभिन्न विधा र क्षेत्रमा प्राप्त भएको ज्ञान तथा अनुसन्धानबारे छलफल गर्न सुदूरपश्चिम विश्वविद्यालयले हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्ने बताएको छ। तीन दिनसम्म चल्ने सम्मेलनमा शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, कृषि, कला, संस्कृति, भाषा, साहित्य, राजनीति, सामाजिक विज्ञान, जनस्वास्थ्य, र वातावरण विधाका अनुसन्धानकर्ता र विज्ञको अनुसन्धानमाथि छलफल हुनेकुरा बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0