सुदुरपश्चिमको प्रदेशसभामा एक्ला स्वतन्त्र सांसद विजयी


डडेल्धुरा : नेकपा (एकीकृत समाजवादी) बाट टिकट नपाएपछि तारा जोशी प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्रमा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका थिए। प्रदेशतर्फ क्षेत्र (२) बाट उम्मेदवार बनेका जोशी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका प्रदेशका सामाजिक विकासमन्त्री कांग्रेसका गोविन्द बोहरालाई जोशीले ४ सय २७ मतान्तरले पराजित गरेका हुन् । सुदुरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फका ३२ सिटमध्ये जोशी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुने एक्ला सांसद हुन् ।

प्रधानमन्त्री देउवाको गृहक्षेत्रमा कांग्रेसले बलियो उम्मेदवारका रूपमा बोहरालाई टिकट दिएको थियो । अन्तिम समयसम्म पनि एकीकृत समाजवादीले माग गरेको उक्त क्षेत्र नपाएपछि जोशीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । जोशीलाई बीपी कांग्रेसले समर्थन गरेको थियो । जोशीले ११ हजार १ सय ६२ मत ल्याउँदा बोहराले १० हजार ७ सय ३७ मत पाएका थिए । यसै क्षेत्रमा एमालेका उम्मेदवार रहेका गजेन्द्र शाहीले गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा एमालेले पाएको मत पनि पाउन सकेनन् । शाहीले जम्मा १ हजार ५ सय ३५ मत मात्रै पाएका हुन । यसले एमालेजनको मत पनि जोशीलाई नै गएको देखिन्छ । माओवादीले पनि भित्री रूपमा जोशीलाई नै सहयोग गरेको स्थानीय स्रोतले बताउँछ । लामो समयदेखि राजनीतिक क्षेत्रमा बौद्धिक छवि बनाएका र पटक–पटक निर्वाचन मा पराजित भएका जोशीप्रति मतदाताको सहानुभूतिले पनि उनलाई निर्वाचन जित्न सहज बनाएको हो ।

गत निर्वाचनमा यसै क्षेत्रबाट जोशीलाई पराजित गरेर प्रदेश सांसद बनेका कर्ण मल्लको पनि जोशीलाई दरिलो सहयोग थियो । गत निर्वाचनमा जोशी मल्लसँग ३ सय ५६ मतले पराजित भएका थिए । २०७० मा पनि जोशी पराजित भएका थिए । त्यतिबेला उनी एमालेबाट उम्मेदवार वनेका थिए ।

जवाहरलाल नेहरू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि गरेका जोशी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् । कुमाउ विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका जोशीले अन्तर्राष्ट्रिय राजनीति विषयमा विद्यावारिधि गरेका हुन् । केही समय पत्रकारितामा पनि संलग्न भएका उनले एमाले विभाजन हुँदा डडेलधुरामा मालेको सचिव भएर पूर्णकालीन राजनीति सुरु गरेका थिए । पछिल्लो समय नेकपा विभाजन हुँदा अन्तिम समयमा माधव नेपाल समूहमा प्रवेश गरेका जोशी एकीकृत समाजवादीका केन्द्रीय सदस्य थिए । केही समय प्राध्यापनसमेत गरेका जोशीले डडेलधुरामा पहिलो पटक सामुदायिक रूपमा भटमास प्रशोधन र तेल उत्पादन गर्ने कम्पनीसमेत सुरु गरेका छन् । यसमा ७ सय ७७ जना सेयर सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0