सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकतर्फबाट १७ महिला अनिवार्य सिफारिस हुने


हेमराज अबस्थी /अत्तरिया : सुदूरपश्चिममा आजसम्म आठ जिल्लाको प्रदेश सभातर्फको सामानुपातिक मत गणना सम्पन्न भएको छ। प्रदेश निर्वाचन कार्यालयले खसेको मध्ये ८ लाख ३८ हजार ८९४ मत सदर भएको जनाएको छ।

प्रत्यक्षतर्फ एक जना पनि महिला सदस्य निर्वाचित नहुँदा प्रदेश सभामा समानुपातिकबाट अनिवार्य १७ महिला सदस्य सिफारिस गर्नुपर्नेछ। जसका कारण बढी मत पाएका नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुगाउन प्राप्त सिटमा महिला प्रतिनिधि पठाउनुपर्ने देखिएको हो।

सुदूरपश्चिम प्रदेश सभाको समानुपातिकतर्फ सहभागी दलमध्ये जम्मा ३४ दलले मत पाएका छन्। बाजुराबाहेक अन्य आठ जिल्लाको प्रदेश समानुपातिकको मत परिणाम हेर्दा कम्तिमा ६ दल बिच २१ वटा समानुपातिक सिटको बाँडफाँड हुने देखिएको छ।सुदूरपश्चिम प्रदेश सभामा २१ समानुपातिक सिटमा दलहरूले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले र नेपाली काँग्रेसले समान ७/७ सिट पाउने सम्भावना देखिएको छ।
नेकपा माओवादी केन्द्रले ३ र नागिरक उन्मुक्ति पार्टीले २ सिट पाउन सक्ने सम्भावना बढेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकिकृत समाजवादीले सामानुपातिकको १/१ सिट पाउने अवस्था बनेको छ। सदर मत ८ लाख ३८ हजार ८९४ मध्ये नेकपा एमालेले सबैभन्दा बढी २ लाख ४८ हजार ८४० पाएको छ। नेपाली काँग्रेसले २ लाख ४३ हजार ३९ मत प्राप्त गरेको छ।
प्रदेशमा नेकपा माओवादी केन्द्रले १ लाख १८ हजार ९०३ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५४ मत पाएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ४३ हजार ८०८ मत ल्याउँदा नेकपा एकिकृत समाजवादीले ४१ हजार ८३९ मत ल्याएको छ। प्रदेश समानुपातिक मतका लागि दर्ता भएका ३४ दलमध्ये सबैभन्दा कम नेपाल संघीय समाजवादी पार्टीको १४९ मत आएको प्रदेश निर्वाचन अधिकारी वताएका छन् ।
बाजुराको मत गणनापछि मात्रै प्रदेश सभाको समानुपातिकतर्फको दलहरूको अवस्था थाहा हुने प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए। ुआइतबारसम्म बाजुराबाहेक अन्य ८ जिल्लाको प्रदेश समानुपातिकको मत गणना भएको छ,ु उनले भने, ुसोमबारसम्म बाजुराको पनि गणना सम्पन्न भएपछि कुन दलको कति मत आयो भन्ने थाहा हुनेछ।
५३ जान सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फको ३२ सिटमा एक जना पनि महिला निर्वाचित भएका छैनन्। जसका कारण दलहरूलाई अनिवार्य ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न समानुपातिकका २१ सिट मध्ये १७ मा समानुपातिक सूचिमा रहेका महिलाहरूलाई सिफारिस गर्नुपर्ने प्रदेश निर्वाचन अधिकारीले बताए।

ुप्रत्यक्षतर्फ प्रदेश सभामा महिला सदस्य निर्वाचित भएका छैनन् जसले गर्दा दलहरूले संवैधानिक रुपमा ३३ प्रतिशत महिलाको सहभागिता पुगाउन समानुपातिकतर्फको २१ मध्ये १७ सिटमा अनिवार्य महिला सिफारिस गर्नुपर्नेछ, उनले भने, दलहरूले प्राप्त गर्ने सिट संख्याका आधारमा क्लस्टरअनुसार ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक प्रावधान नै छ।
प्रत्यक्षतर्फ बढी स्थानमा जित निकल्ने दलले समानुपातिकतर्फ बढी सिटमा महिलाको नाम सिफारिस गर्नुपर्नेछ। जसले गर्दा प्रत्यक्षतर्फ प्रदेश सभामा सबैभन्दा बढी १२ स्थानमा जित निकालेको नेपाली काँग्रेस, ८ स्थानमा जितेको नेकपा माओवादी केन्द्र र ५ स्थानमा जितेको नागरिक उन्मुक्ति पार्टी र ३ स्थानमा जितेको नेकपा एकिकृत समाजवादीले समानुपातिकतर्फ प्राप्त गर्ने सतप्रतिशत सिटमा महिला सदस्य सिफारिस गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0