डडेल्धुरामा स्वतन्त्रका तारा जोशीको विजयी र्‍यालीमा, सागर र कर्ण सहभागी


डडेल्धुराः डडेल्धुरा प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएपछि विजयी र्‍याली निकालिएको छ।

बिहीबार जिल्ला सदरमुकाम बागबजार, तुफान्डाँडा, कीर्तिपुर र पोखरामा विजयी र्‍याली निकालिएको हो।

 

विजयी र्‍यालीमा सहभागीले ‘तारा जोशी आई लभ यू, कर्ण मल्ल जिन्दावाद’ को नारा लगाएका थिए। डडेल्धुरा प्रदेश–२ मा जोशीले ११ हजार १ सय ६२ मत पाउँदा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहराले १० हजार ७ सय ३७ मत ल्याए।

जोशी एकीकृत समाजवादीका नेता हुन्। उनले सत्ता गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए। ०७४ को निर्वाचनमा जोशी नेपाली काँग्रेसका डडेल्धुराका सभापति कर्णबहादुर मल्लसँग झिनो मतान्तरले पराजीत भएका थिए।

जोशी विजयी र्‍यालीमा गुल्मीबाट डडेल्धुरा पुगेर प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल र नेपाली काँग्रेस विपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्ललगाएतका नेताहरू सहभागी भएका थिए।

डडेल्धुरामा जोशीलाई नेपाली काँग्रेस विपी र नेकपा एसको समर्थन रहेको थियो। र्‍यालीमा सहभागीलाई सम्बोधन गर्दै जोशीले आफ्नो जित डडेल्धुरा बासीका लागि आशिंक सफलता भएको बताए।

‘यो अभियान लामो समयदेखि चल्दै आएको छ। आज हामी आशिंक सफल भयौ। पूर्ण होइन,’ उनले भने, ‘हामीले निर्वाचनको एउटा खुट्किलो पार गरेका छौ। तर, हाम्रा अगाडि तमाम चुनौती हुनेछन्।’

उनले आफूहरू निरन्तरता र परम्परागत राजनीति नगरेर विकास र परिवर्तनको राजनीति गर्ने प्रतिक्रिया दिए।

उनले भने, ‘हाम्रा अगाडि उदेश्य हुनेछ। हाम्रा हरेक पाइला परिवर्तनका लागि हुनेछ। मेरो एक्ले प्रयासले हुँदैन्। तपाईंहरूले यहाँसम्म पुर्‍याउनु भएको छ। अझै तपाईहरूको साथ रहनु पर्नेछ।’

सिंगो केन्द्रीय सरकार, सिंगो प्रदेश सरकार, डडेल्धुराका पाँच वटै पालिकाका सरकार र करोडौ रूपैयाँको खर्च र दम्भ, आश र त्रास जनताले नपत्याएर जनताले परिवर्तनका लागि अभिमत दिएको काँग्रेस विपीका बरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले बताए। उनले डडेल्धुराका जनता परिवर्तनको पक्षमा दरो रूपमा उभिएका दाबी गरे।

उनले भने, ‘डडेल्धुराका जनताबाट सधै मत लिने र उनको मतको शोषण गर्ने, शासन गर्ने, अन्याय अत्याचार र भ्रस्टाचार गर्नेका बिरुद्ध यो जनमत हो।’

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0