एमाले सुदूरपश्चिमद्धारा २७ बुँदे चुनावी प्रतिवद्धता पत्र सार्वजनिकः ५० हजारलाई रोजगारी दिईने


अत्तरिया: नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले २७ बुँदे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। प्रतिवद्धता पत्रमा मंसिर ४ गते हुने चुनावमा नेकपा एमालेले बहुमत ल्याए पाँच वर्षमा गर्ने कामको विवरण उल्लेख गरिएको छ। नेकपा एमालेले सुन्दर सुदूरपश्चिम, समृद्ध सुदूरपश्चिमका लागि सरकार बनाएर पाँच वर्षभित्रै प्रदेशको समग्र विकास गर्ने अठोट गरेको छ।
सुशासन, विकास र समृद्धिको आधार तयार गर्न सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको प्रदेश सरकार हुनुपर्ने जिकिर गरिएको छ। पार्टीको प्रदेश स्तरीय चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नेकपा एमालेले बहुमत प्राप्त गरे पाँच वर्षमा प्रदेश सरकारले गर्ने कामको विवरण २७ बुँदामा समेटेर सार्वजनिक गरेको हो। एमालेको सरकार बने नीतिगत र संरचनागत क्षेत्रमा सुधार गरेर सुशासनको प्रत्याभुति गर्ने उल्लेख गरिएको छ। समृद्ध सुदूरपश्चिमको आधार तय गर्न २० वर्सीय प्रादेशिक रोडम्याप निर्माण गरेर दीर्घकालिन, मध्यकालिन तथा तत्काल गर्नुपर्ने कामका क्षेत्रहरू पहिचान गरि प्रदेशको योजनावद्ध विकास गर्ने नेकपा एमालेको घोषणा पत्रमा भनिएको छ।

नेकपा एमालेले भागबण्डामा नभएर प्राथमिकताको आधारमा योजना छनोट गर्ने, राजश्व संकलनबाट प्राप्त हुने रोयल्टीको समुचित वितरण गर्ने, नागरिक हितको सुरक्षा गर्ने, आगामी तीन वर्षमा पूर्ण साक्षर प्रदेश बनाउने, युवाहरूलाई पढ्दै कमाउन सक्ने शिक्षा प्रदान गर्ने र उन्नत र आधुनिक कृषिबाट प्रदेशको समृद्धि हासिल गर्ने नीति लागू गर्ने योजना नेकपा एमालेको प्रतिद्धता पत्रमा छ।

एमाले प्रदेश सचिव धर्मराज पाठकले सार्वजनिक गरेको घोषणा पत्रमा प्रदेशका मुख्य पर्यटकीय गन्तव्यमा पर्यटन पूर्वाधार विकास गर्ने, सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्न पहल गर्ने, ुएक गाउँ एक उत्पादन, एक परिवार एक रोजगारु सुनिश्चित गर्ने, यातायातका पूर्वाधार विकास गर्ने, हरेक नागरिकलाई आधारभूत आवश्यकता पूरा गर्न कुनै कठिनाइ नहुने वातावरण सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारको प्रत्याभूति गर्न नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारले काम गर्ने एमालेको घोषणा पत्रमा समेटिएको छ। प्रतिवद्धता पत्र सार्वजनिक गरेपछि नेकपा एमालेका सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्टले नेकपा एमालेले प्रतिनिधि सभातर्फ १० सिट र प्रदेशमा ३० सिटमा जित हासिल हुने दाबी गरेका छन्। एमालेले पाँच वर्षमा ५० हजारलाई राजगारी सृजना गर्नेदेखि पढ्दै काम गर्ने प्राविधिक शिक्षा दिने दाबी गरेको छ।

नेकपा एमालेले सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने, सरल र सहज सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, वित्तीय संस्थामा सबै नागरिकको पहुँच विस्तार गर्ने, भाषा, कला र संस्कृतिको संरक्षण गर्ने, एक पालिका एक खेल मैदान निर्माण गर्ने र प्रदेशमा प्रभावकारी शान्ति सुरक्षा कायम गर्ने जस्ता योजना नेकपा एमालेले प्रतिवद्धता पत्रमार्फत सार्वजनिक गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0