डोटीको पूर्वीचौकीमा भूकम्पमा परेर ६ जनाको ज्यान गयो, ५ जना घाइते


डोटी : जिल्लाको पूर्वीचौकीमा भूकम्पमा परी ६ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको भूकम्प गएको हो ।

डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए ।

यस्तै वेपत्ता २ जनाको भने सकुसल उद्धार गरीएको उनले बताए। थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

केन्द्रका अनुसार त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।

यता बझाङमा पनि भूकम्पका कारण यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन्। मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिकाका– ५ कि लक्ष्मीदेवी जोशीले बताए। गाउँभरिका मानिस आगो बालेर बाहिर बसेको उनले जानकारी दिए। यहाँ पनि पुराना घरहरू भत्किएको बताइएको छ।

जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कैयौँ मानिस सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा भेला भएका छन् । पछिल्लो केही समय यता सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महशुस भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0