निर्माण पूरा नहुदै धनगढीको ६ लेन सडक हस्तान्तरणको चलखेल


अत्तरिया : मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका लागि २०७४ जेठ ६ गते सम्झौता भयो। १४ किलोमिटर सडक तीन खण्डमा निर्माणको चरणमा छ। पहिलो खण्डको असोज ४ गते समय सकिएको छ। देस्रोको भदौ २४ गते समय सकियो। तेस्रोको असोज १५ मा समय सकिएको बताइएको छ।

सडकको भौतिक प्रगति भने ९६ प्रतिशत मात्र पूरा भएको छ। सडकको पूर्ण काम भएको छैन। तर, कामका आधारमा भुक्तानी दिने र हस्तान्तरण गर्न चलखेल सुरु भएको बताइएको छ। महाकाली ४ लेन सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङका अनुसार अहिलेसम्मको प्रगतिको फाइल विभाग पुगेको छ। ‘त्यो प्रोजेक्ट असोज मसान्तबाट क्लोज भैसक्यो। अहिले महाकाली पुल योजना कार्यालयलाई हस्तान्तरण भएको छ। सडक मर्मत र पुलका काम बाँकी छन्,’ उनले भने।

सडकको तेस्रो खण्डमा पनि फुटपाथ निर्माण, सडकमा रङरोगन, साइनबोर्ड तथा भत्किएको सडक मर्मत भएको छैन। तीनै खण्डमा कालोपत्र गरिएको सडक भत्किएको छ। सडकमा राख्नै पर्ने ट्राफिक संकेतहरु राखिएका छैनन्। शाखा सडकको काम पूरा भएको छैन। तर सडक निर्माणको जिम्मा पाएको महाकाली ४ लेन पुल योजना कार्यालयले कामको आधारमा भुक्तनीका लागि फाइल केन्द्र पठाएको छ।

कार्यालय प्रमुख गुरुङले भने, ‘सडक हस्तान्तरण भएको छैन। डेफेक्ट करेक्सन गर्न भनेका छौ। वर्षातको समयमा काम भएन। अब उहाँहरुले काम गर्नुहुन्छ, होला। ठेक्का क्लोज भएको छैन। एक वर्ष हस्तान्तरणपछि पनि मर्मतको समय रहन्छ।’

पहिलो खण्ड मोहनापुल क्षेत्रमा नागार्जुन निर्माण सेवा र दोस्रो तथा तेस्रो खण्डमा राजेन्द्र निर्माण सेवाले सडक निर्माणको काम गर्दैछन्। पहिलो खण्डको निर्माण कम्पनी सम्पर्कमा समेत नआएको दाबी गरिएको छ। तर, महाकाली पुल योजना कार्यालयका प्रमुख गुरुङले भने फाइल विभाग ल्याएको जनाएका छन्।
उनले काम फाइनल नभएको तर कामको स्कोप घटेको बताए। पटक–पटक ताकेता गर्दा पनि सडक निर्माणमा कम्पनीहरुले बेवास्ता गर्दै आएका छन्। आयोजना कार्यालय खारज भएपछि निर्माण कम्पनीलाई हाइसञ्चो भएको हो। सडक विभाग पनि निर्माण कम्पनीको पक्षमा देखिएको छ। सौजन्य: दिनेश खबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0