भारतले मंगलबारदेखि प्रचलनमा ल्यायो डिजिटल मुद्रा


काठमाडौं । यस वर्षको बजेटमा घोषणा गरेको डिजिटल मुद्रालाई भारतले कार्यान्वयनमा ल्याएको छ । भारतीय रिजर्ब बैंक (आरबीआई) ले १ नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा प्रचलनमा ल्याएको हो ।

भारतमा मंगलबारदेखि डिजिटल मुद्रा परीक्षणकै रुपमा चलनचल्तीमै ल्याइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आरबीआईले परीक्षणका क्रममा होलसेल ट्रान्जेक्सन र क्रस बोर्डर पेमेन्टमा यस्तो मुद्रा प्रचलनमा ल्याएको हो । आरबीआईले यस परीक्षणका लागि ९ वटा बैंकहरु समावेश गरेको छ ।

डिजिटल मुद्राको प्रचलनसँगै अब मानिसहरुले नगदमा निर्भर रहनु पर्ने बाध्यता हट्ने छ । डिजिटल करेन्सी प्रचलनमा आउनु अगाडि कारोबारका लागि नगद वा चेक अथवा कुनै बैंकिङ प्रणालीका माध्यमबाट भइरहेको थियो । अब भने डिजिटल नोटमा कुनै ‘हार्ड करेन्सी’ हुने छैन । ‘वालेट टू वालेट’ कारोबार सम्भव हुनेछ । यसले कालोधन थुपार्ने प्रवृत्ति समेत कम हुने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । निकट भविष्यमा निश्चित रकमसम्मको कारोबार डिजिटल करेन्सीबाट अनिवार्य गर्दा यसले कालोधन राख्ने प्रवृत्तिको अन्त्य हुने र सबै कारोबार रेकर्ड केन्द्रीय बैंकसँग रहने अर्थविद्‍हरुले बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसको कारोबारलाई सरकारले प्रणालीमार्फत प्रत्यक्ष निरन्तर निगरानी समेत गर्न सक्नेछ । डिजिटल करेन्सी प्रचलनमा आएपनि तत्काल भौतिक मुद्रा भने प्रचलनबाट हराउने छैन । पहिलो चरणमा ठूलो कारोबारमा आएको डिजिटल मुद्रा आम सर्वसाधारणमा प्रचलनमा आउन भने समय लाग्नेछ ।

अन्य ई-वालेटभन्दा कसरी फरक ?

भारतमा गुगल पे, यूपीआईसहितका ई–वालेट प्रचलनमा छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार यस्तो वालेटमा कारोबारको लिमिट तोकिएको हुन्छ । तर, डिजिटल करेन्सीमा यस्तो लिमिट हुने छैन । ठूलो रकम एकै पटक पठाउन    ई–वालेटले काम नगरेको अवस्थामा अब डिजिटल मुद्राले सहजता ल्याउने समेत भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । सौजन्य:अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0