बिहीवार डडेल्धुरा आउँदै प्रधानमन्त्री देउवा


डडेल्धुराः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहीवार गृहजिल्ला डडेल्धुरा आउने भएका छन्। यही १७ गतेदेखि चार दिने कार्यक्रमका लागि देउवा जिल्ला आउने कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ।

उनले एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका थिए। मनोनयन दर्तापछि आरजु एक साता चुनावी गतिविधिमा संलग्न भएर काठमाडौं फर्किएकी थिइन्। डडेल्धुराबाटै समानुपातिकको बन्द सूचीमा परेकी आरजुले छठ पर्व मनाएपछि मात्रै जिल्ला फर्कने बताएकी थिइन्।

अहिले डडेल्धुरामा वाम–लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटीका संयोजक तथा नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउँदको नेतृत्वमा देउवाको चुनावी प्रचार भइरहेको छ। साउँदका अनुसार १७ कात्तिकमा मात्रै देउवा डडेलधुरा आउने कार्यक्रम रहेको छ।

‘१७ गतेदेखि चार दिने कार्यक्रमका लागि प्रधानमन्त्रीज्यू डडेल्धुरा आउने कार्यक्रम रहेको छ,’ उनले भने, ‘त्यसपछि केही दिनका लागि फेरि काठमाडौं फर्किनुहुन्छ। निर्वाचनको केही दिन अगाडि फेरि आउनुहुन्छ। प्रधानमन्त्री तथा पार्टी सभापति पनि भएकाले आफ्नो जिल्लामा मात्र केन्द्रित हुने कुरै भएन।’

देशभर चुनाव प्रचारप्रसार गर्ने दायित्वको कारण आफ्नो मात्रै निर्वाचन क्षेत्रमा धेरै समय दिन नसक्नु स्वाभाविक भएको उनको भनाइ छ। पछिल्ला केही निर्वाचनदेखि डडेल्धुरा पुगेपछि देउवा सीमित चुनावी सभालाई सम्बोधन गर्दै आएका छन् ।

जिल्ला सदरमुकाम अमरगढी, आफ्नो गृहपालिका गन्यापधुरा, भित्री मधेसको जोगबुढा र भागेश्वर गाउँपालिकाको बगरकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गरेपछि उनको चुनावी कार्यक्रम सकिने गरेको छ। ०४८ सालदेखि निरन्तर डडेल्धुराबाट निर्वाचन लड्दै आएका देउवाले पहिलोपटक कम्युनिष्टको पनि साथ पाएका छन् ।

‘अहिले देउवाविरुद्ध एमाले र माओवादी केन्द्रलगायतका ठुला दलको उमेदवारी नै छैन,’ डडेल्धुरा कांग्रेसका एक नेताले भने, ‘त्यसैले अघिल्ला चुनावभन्दा अहिलेको चुनाव देउवालाई झनै सहज भएको छ। जिल्लामा दोस्रो शक्ति रहेको माओवादी केन्द्रको सहयोगले जित सुनिश्चित बनाइदिएको छ।’

अहिले देउवाविरुद्ध लामोसमय देउवाकै स्वकीय सचिव रहेका बीपी कांग्रेसका कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायतका ८ जना उमेदवार चुनावी मैदानमा छन्। मल्ललाई नेकपा एमालेको समर्थन हुने बताइएकोमा एमालेले तालमेल तोडेको घोषणा गरिसकेको छ। उनी अहिले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका डा। तारा जोशीसँग चुनावी तालमेल गर्दै प्रचारमा व्यस्त छन्। गुल्मीबाट आएर देउवाविरुद्ध उमेदवारी दिएका इन्जिनियर ढकाल भने डडेल्धुराका ग्रामिण क्षेत्रमा एकल रूपमै प्रचार गर्न व्यस्त छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0