दार्चुला घटनालाई लिएर नेपालले पठायो भारतसरकारलाई कूटनीतिक नोट


काठमाडौँ : महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयले आइतबार भारतलाई कूटनीतिक नोट पठाएको हो ।

गृह मन्त्रालयबाट कूटनीतिक नोट पठाउनका लागि परराष्ट्रलाई शनिबार नै पत्र पठाए पनि घटनाको विस्तृत रिपोर्ट नआएका कारण आइतबार कूटनीतिक नोट पठाइएको मन्त्रालयका एक अधिकारीले बताएका छन ।

नोटमा पीडितलाई उचित राहत र क्षतिपूर्ति दिलाउनका लागि आग्रह गरिएको छ । यसका साथै अन्तर्राष्ट्रिय सिमानामा यस्ता गतिविधि गर्दा नेपाली पक्ष र सम्बन्धित स्थानीय प्रशासन र बासिन्दालाई समेत अगाडि नै जानकारी दिन आग्रह गरिएको छ ।

बालकको मृत्युमा भारतीय पक्षले माग्यो माफी
भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको छ ।

‘असल छिमेकी’ को हेपाहा प्रवृत्ति
धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो । ढुंगा लागेर पवनकी दिदी १४ वर्षीया सरिना महरा घाइते भएकी छन् । उनीहरू बुबा हिक्मतसिंहसँगै व्यासकै थी गाउँबाट महाकालीको किनारैकिनार दुम्लिङस्थित घर फर्कंदै थिए । नेपालको प्रशासन र प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वजानकारी नै नदिई भारतीय पक्षले शुक्रबार बिहान विस्फोट गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0