रासन घोटालामा मुछिएपछि दार्चुलाबाट एसपी विष्ट गए, अर्का नयाँ कमाण्डर विष्ट आए


अत्तरिया: दार्चुलाको खलंगास्थित सशस्त्र प्रहरीको ४४ नं गणमा कमाण्डर फेरिएका छन्। रासन घोटाला प्रकरण लुकाउन हवल्दारलाई हातहतियार र गोलीगठ्ठाको सूची सार्वजनिक गरेको भन्दै झुठो मुद्दा लगाउने एसपी त्रिभुवन विष्टको ठाउँमा नयाँ एसपीको काज सरुवा भएको हो।

रासन घोटालाकाण्डमा विष्ट हलचोकस्थित हेडक्वाटर तानिएका थिए। अहिले उनको ठाउँमा एसपी डम्बरबहादुर विष्टलाई पठाइएको छ। सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ता बाँकेबाट बिष्टलाई दार्चुलास्थित नम्बर ४४ गण हेडक्वाटर सरुवा गरिएको हो।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम (१) को खण्ड (ग) र नियमावलीको नियम ३६ बमोजिम सशस्त्र प्रहरी महानिरीक्षकले विष्टसहित चार जना एसपीहरुको काज सरुवा गरेका थिए। बिहीबार दार्चुला पुगेर विष्टले गणको कमाण्ड सम्हाल्ने तयारी गरेका छन्।

तत्कालीन एसपी विष्ट हेडक्वाटर तानिएपछि डीएसपीले गणको कमाण्ड सम्हालिरहेका थिए। एसपी विष्टले सशस्त्र प्रहरी कर्मचारीलाई बिदामा छाडेर राशनमा घोटाला गरिरहेको आरोपसहितको समाचार पहिलोपटक सुदुरपश्चिमको दिनेशखबरले सार्वजनिक गरेको थियो। तर, संगठनको बदनाम गर्न खोजेको भन्दै गणमै कार्यरत सशस्त्र प्रहरी हवल्दार नरेशसिह साहुविरुद्ध एसपी विष्टले विशेष अदालतमा मुद्दा दायर गरेका थिए।

उनले दार्चुलाका एक जना पत्रकारलाई सशस्त्र प्रहरी कर्मचारीको हाजिरी सम्बन्धी विवरण मात्र पठाएको भएपनि एसपी विष्टले हातहतियार सम्बन्धी सूचना चुहाएको आरोपमा मुद्दा दायर गरेका थिए। तर, साहुले भने गत बुधबार सशस्त्र प्रहरीको विशेष अदालतबाट सफाइ पाइसकेका छन्। साभार दिनेशखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0