नेकपा (एस)लाई तारा जोशीको जवाफ : उम्मेदवारी निष्क्रिय हुन्न, पार्टीले कारबाही गरे गरोस्


डडेल्धुरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सत्ता गठबन्धनविरुद्ध उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. ताराप्रसाद जोशीले आफूलाई पार्टीले कारबाही गरे पनि उम्मेदवारी निष्क्रिय नपार्ने जनाएका छन् ।

डडेल्धुरा प्रदेश सभा ख मा जोशीले सत्ता गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । यहाँ गठबन्धनबाट नेपाली कांग्रेसलाई भाग परेको थियो । कांग्रेसबाट प्रदेश सामाजिक विकास मन्त्री गोविन्द बोहरा उम्मेदवार रहेका छन् ।

गठबन्धनमा भाग नपरेपछि स्वतन्त्र उम्मेदवार बनेका जोशीलाई आज पार्टीले २४ घण्टे चेतावनी दिएको छ । महासचिव डा.बेदुराम भुसालले जारी गरेको बिज्ञप्तिमा उम्मेदवारी निष्क्रिय नपारे सम्पूर्ण जिम्मेवारीबाट मुक्त पारिने चेतावनी दिइएको छ । यता स्वतन्त्र उम्मेदवार बनेका डा। जोशी भने उक्त विज्ञप्तिले आफ्नो उम्मेदवारीमा कुनै फरक नपर्ने बताउँछन् ।

‘हामीले उम्मेदवारी दर्ता गराउँदा नै यो सबै सोचेका थियौं’, उनले संचारकर्मिलाई भने, ‘हामी अब जनता समक्ष गइसकेका छौँ पार्टीले कारबाही गर्दैमा केही फरक पर्दैन ।’

अघिल्लो पटकको निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सभामा उम्मेदवार रहेका जोशी कांग्रेस उम्मेदवार कर्ण मल्लसँग ३५६ मतले पराजित भएका थिए । अहिले मल्ल पनि कांग्रेस परित्याग गरेर कांग्रेस (बीपी)बाट प्रतिनिधिसभाको उम्मेदवार भएका छन् । डडेल्धुरामा मल्ल र जोशीले तालमेल गरेका छन् ।

गठबन्धनविरुद्ध उम्मेदवार भएको भन्दै कारबाहीको चेतावनी दिए पनि जोशी कारबाही भोग्न तयार भएको तर,उम्मेदवारी निष्क्रिय नपार्ने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0