कैलालीको गेटा आँखा अस्पतालले स्वास्थ्य बिमाका बिमितको उपचार गर्न बन्द


कैलाली : कैलालीको गेटा आँखा अस्पतालले स्वास्थ्य बिमाका बिमितको उपचार गर्न बन्द गरेको छ।

स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको भन्दै अस्पतालले बिमित बिरामीको निःशुल्क उपचार सेवा बन्द गरेको हो। स्वास्थ्य बिमा बोर्डले ३ करोड ५० लाख रकम भुक्तानी नगरेकोले औषधि खरिद गर्न समस्या भएको भन्दै अस्पतालले उपचार सेवा नै बन्द गरेको गेटा आँखा अस्पतालका प्रशासकीय अधिकृत गोविन्दप्रसाद जोशीले बताए।

बिमा बोर्डसँग सबैभन्दा पहिला सम्झौता गर्ने अस्पताल हाम्रै हो तर गएको आर्थिक वर्षमा हामीले ३ करोड बढी रकम भुक्तानी पाएनौँ त्यसैले बाध्य भएर सेवा बन्द गर्ने भनेर स्वास्थ्य बिमा बोर्डलाई साउन ९ गते पत्राचार गरेका जानकारी गराएर सेवा बन्द गर्नुपरेको हो,ु उनले भने, ुभुक्तनी पाए फेरि सेवा सुरू गर्छौँ।

सुदूरपश्चिमका सबै जिल्लाका आँखाका बिरामी उपचारका लागि गेटा आँखा अस्पताल आउने गर्छन्। तर बिमा गरेको छु भन्दै उपचार गर्न आउनेलाई भने साउन ९ गतेबाट समस्या हुन थालेको हो। अस्पतालले एकतर्फी बिमितको उपचार नगर्ने निर्णय गरेपछि बिमा कार्ड बोकेर अस्पताल आउने बिरामी मर्कामा पर्न थालेका हुन्। बिमा गरेर उपचार गर्न पहाडी जिल्लाबाट बिरामी आउने गरेका छन् तर अस्पतालको उपचार गर्न नसक्ने अवस्था रहेको प्रशासकीय अधिकृत जोशीले बताए।

स्वास्थ्य बिमा बोर्डले सुदूरपश्चिमका अन्य अस्पताललाई पनि भुक्तानी गर्न आलटाल गर्दै आएको छ। गेटा आँखा अस्पतालले साउन ९ गते पत्राचार गरेर स्वास्थ्य बिमा बोर्डलाई उपचार गर्न असमर्थ रहेको जनाएपछि भदौभसत्र सबै भुक्तानी दिने मौखिम सहमति स्वास्थ्य बिमा बोर्डले गरेको अस्पतालले जनाएको छ। तर अहिलेसम्म भुक्तानी भने गरिएको छैन। तर स्वास्थ्य बिमा बोर्डले भने भदौमा केही रकम पठाएको थप रकम पनि मन्त्रालयबाट निकासा हुने वित्तिकै पठाउने स्वास्थ्य बिमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बताए।

हामीले केही रकम गेटा आँखा अस्पताललाई भदौमा नै पठाइसकेका छौँ, उनले भने, थप रकम जति बाँकी छ त्यो पनि निकासा भएपछि भुक्तानी गर्ने छौँ।

गेटा आँखा अस्पतालले स्वास्थ्य बिमा बोर्डसँग २०७४ मंसिर १० गते पहिलो सम्झौता गरेको थियो। तीन वर्से सम्झौता अवधि सकिएपछि २०७७ मंसिर १० मा दोस्रो पटक सम्झौता भएको थियो। तर दोस्रो सम्झौता नसकिंदै स्वास्थ्य बिमा बोर्डले समयमै उपचार खर्च भुक्तानी नगर्दा अस्पताल र सर्वसाधारण बिरामी समस्यामा पर्न थालेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0