२०७७ असार अन्तिम साता कैलालीको धनगढीका ७ ओटा सडक निर्माणका लागि सम्झौता


अत्तरियाः  २०७७ असार अन्तिम साता कैलालीको धनगढीका ७ ओटा सडक निर्माणका लागि सम्झौता भयो। उक्त सम्झौता एसियाली विकास बैंक(एडीबी)को सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना र निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिबीच भएको थियो।

आयोजना अन्तर्गत धनगढी उपमहानगरपालिकाभित्र ४२ किलोमिटर सडक विस्तारका लागि सम्झौता भएको थियो। तर सर्भे र सम्झौताअनुसार उपमहानगरपालिकाले काम गर्न सकेको थिएन। ७ ओटा सडक निर्माणका लागि भएको सम्झौता पनि सकिएको छ।

धनगढी चौराहदेखि कैलाली नालासम्मको काम सुरु नहुँदै सम्झौता अवधि सकिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका प्रमुख प्रविन शाहले बताए। ‘यो आर्थिक वर्षसम्म ५० प्रतिशत मात्र प्रगति भएको देखिन्छ। ३८ करोड भुक्तानी भइसकेको अवस्थमा ७ ओटै सडकको सम्झौता अवधि सकिएको छ’ उनले भने, ‘नाली निर्माणको काम ८० प्रतिशत सकिएको छ। पुससम्म म्याद थप गर्ने तयारी भइरहेको छ।’

सम्झौतामा ६८ करोड ५ लाख ९८ हजारमा २०७९ साउन १९ गतेभित्र साढे १० किलोमिटर सडक निर्माणको काम सम्पन्न गर्ने उल्लेख थियो। तर, सम्झौता अवधि समाप्त भइसक्दा पनि ७ ओटा सडकको प्रगति ५० प्रतिशत मात्र पूरा भएको छ।

मुख्य सडकको काम सुरु भएको छैन, खानेपानीका पाइप राख्ने विषय टुंगिने वित्तीकै निर्माण सुरु गरेको ६ महिनाभित्र काम सम्पन्न हुने कालिका कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि प्रकाशचन्द्र खरेलले बताए। ‘अहिलेसम्म ६० प्रतिशत निर्माणको काम भइसकेको छ।

बाँकी कामका लागि कतै पिच गर्ने कार्य सुरु हुँदैछ भने कतै नाली निर्माणको काम भइरहेको छ’ उनले भने। सडक निर्माण सुरु भएका सडकको प्रगति पनि सन्तोषजनक छैन। गुल्म–चर्च रोड (२ हजार ७ मिटर), धनगढीको ट्राफिक चौराहादेखि कैलाली नालासम्म (१ हजार ३ सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल (७ सय मिटर), क्याम्पस रोड–चटकपुर (३ हजार ६ सय ५० मिटर), धनगढी–खुटीया स्याउले रोड (८ सय ७० मिटर), मालपोत रोड (४ सय ३० मिटर) र हसनपुर रोड (१ हजार १ सय ५० मिटर)को निर्माण सम्पन्न हुनुपर्ने हो। तर सम्झौता अवधि समाप्त भइसक्दा पनि निर्माण कार्य ५० प्रतिशत अधुरै छ।

निर्माण कम्पनीलाई अहिलेसम्म ३८ करोड भुक्तानी गरिसकिएको छ। बाँकी निर्माण कार्य पूरा गर्न क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले पुस महिनासम्म म्याद थप गर्ने तयारी गरेको छ। तर, निर्माण कम्पनीले भने सम्पूर्ण निर्माण कार्य फागुन÷चैतमा मात्र सम्पन्न हुने दाबी गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0