धनगढीमा डाक्टर गोविन्द केसीको सत्याग्रहः चुनावमा पर्ला ‘इफेक्ट’ ?


धनगढीः स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता डाक्टर गोविन्द केसी अहिले धनगढीमा छन्। सरकारसँग विभिन्न ७ बुँदे माग राख्दै सत्याग्रह बस्नका लागि उनी धनगढी पुगेका हुन्।

सोमबार साँझदेखि डाक्टर केसीले आफ्नो २०आँै सत्याग्रह सुरु गरिसकेका छन्। अहिले डाक्टर केसी धनगढीमा आएर अनसन बसेपछि धेरैले आगामी निर्वाचनको अवस्थालाई आकलन गर्न थालेका छन्। विशेषगरी कैलाली र सुदूरपश्चिमको चुनावमा अहिलेको सत्याग्रहले ‘साइड इफेक्ट’ पार्नसक्ने बुझाइ कतिपयको छ।

स्वास्थ्य क्षेत्र सुधार तथा नागरिककै हितका लागि डाक्टर केसीले विभिन्न माग अघि सारेका कारण उनको आवाज सम्बोधन हुनुपर्ने भनाई नागरिकहरुकोे छ। सरकारलाई डाक्टर केसीका माग पूरा गर्ने चुनौती र अवसर दुवै भएको धनगढीका स्थानीय प्रमोद पाठक बताउँछन्। ‘डाक्टर केसीले उठाएका मागहरु जनताका लागि हुन्। त्यो माग भोट माग्ने मान्छेले पूरा गरे राम्रो हुन्छ। यसले म्यासेज पनि राम्रो जान्छ,’ उनले भने, ‘यो समस्या होइन कि समाधान हो। यो अवसरको प्रयोग गर्नुपर्छ नेताले।’

डाक्टर केसीले सत्याग्रह सुरु गरेको स्थान कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पर्छ। यहीँ क्षेत्रबाट प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले २०७४ मा निर्वाचन लडेकी थिइन्। उनले कैलाली–५ लाई गृह क्षेत्र मान्ने गरेकी छन्। तर आगामी निर्वाचनमा भने राणा कहाँबाट चुनाव लड्छिन् टुङ्गो लागेको छैन। यद्यपि उनको बढी चर्चा कैलाली–५ मा नै छ।

सरकारको नेतृत्व पनि काँग्रेसले नै गरेका कारण डाक्टर केसीले उठाएका मागहरु सम्बोधन गर्नु पर्ने चुनौती सत्तागठबन्धनसामू छ। अहिलेको सत्याग्रहलाई अवसर ठानेर माग सम्बोधन गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने देखिएको छ।

सत्याग्रहमा रहेका डाक्टर केसीले तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने, जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने, संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने माग राखेका छन्।

यस्तै डाक्टर केसीलाई आउने निर्वाचनमा चुनाव लड्ने नेताले साथ दिए सकारात्मक प्रभाव पर्ने आकलन गरिएको छ। तर, राजनीति शास्त्रका प्राध्यापक सुरेन्द्र चन्दले भने डाक्टर केसीका मागहरु धेरैलाई थाहा नभएको बताए। ‘जोलाई मर्का परेको छ, त्योलाई थाहा छ। त्यही भएर समय परिस्थिती हेरेर सत्याग्रह बसेको भए अझै राम्रो हुन्थ्यो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0