सुदूरपश्चिमका ३ अस्पताल मिलाएर बनाइने स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया कहाँ पुग्यो ?


अत्तरियाः  प्रदेश सरकारले ‘सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने घोषणा गरिसकेको छ। चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रममा नै प्रदेश सरकारले ‘सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने घोषणा गरेको हो।

कैलालीको सेती प्रादेशिक, टीकापुर अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मिलाएर ‘सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान’ सञ्चालनको अवधारण अघि सारिएको थियो। चालु वर्षमै सञ्चालन गर्ने भन्दै कानुन निर्माणको थालनी पनि भयो। तर, प्रतिष्ठान सञ्चालनका लागि तयार पारिएको विद्येयक भने सामाजिक विकास मन्त्रालयमा थन्किएको छ।

कानुन र अर्थ मन्त्रालयको सहमति पनि पाएको विद्येयक सामाजिक विकास मन्त्रालयमा रहेको मन्त्रालयका सचिव दीपक लामिछानेले बताए। ‘विद्येयक तयार छ। संसद चाहीँ सकियो। मन्त्रिपरिषद्को निर्णय पनि भएको छैन,’ उनले भने।
कानुन र अर्थको अनुमति लिएर तयार पारिएको उक्त विद्येयक मन्त्रिपरिषद्बाट संसदमा पेस गर्नुपर्ने हुन्छ। संसदले पारित गरेपछि मात्रै थप प्रक्रिया सुरु हुन्छ। तर, प्रदेश सरकारले आफ्नो कार्यकालको पहिलो संसद नै अन्त्य गरिसकेको छ। त्यसकारण यो विद्येयक तत्काल पारित हुने सम्भावना नभएको सचिव लामिछानेले बताए। ‘अहिले नै पारित गर्ने हो भने, अध्यादेश ल्याउनुपर्छ। संसद त छैन। यो राजनीतिक नेतृत्वको हातमा छ,’ उनले भने।

सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि तीन वटा अस्पतालको सेवालाई गुणस्तरीय बनाउन तथा दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने हुन्छ। आवश्यक भौतिक संरचना र उपकरण खरिदमा पनि सरकारको लगानी आवश्यक छ। त्यसपछि मात्रै प्रतिष्ठानको अवधारण अघि सार्न सकिएको भनाइ कतिपयको छ।

सुदूरपश्चिम प्रदेश सरकारलाई चालु आर्थिक वर्षको बजेट चुनावलक्षित ल्याएको आरोप पनि लागेको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवधारण पनि चुनाव लक्षित नै भएको आरोप छ। पहिलो कार्यकालको अन्तिम बजेटमा प्रतिष्ठानको योजना ल्याएर चुनावका लागि मतदाता प्रभावित पार्न खोजेको भनाइ प्रतिपक्ष दलको छ।

प्रदेशमा चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको आवश्यककता भएपनि सरकार त्यसतर्फ गम्भीर बन्न सकेको छैन। चुनावी एजेण्ड बनाउनका लागि प्रतिष्ठानको अवधारणा अघि सारेर नागरिकलाई झुक्याउन खोजेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले बताए। ‘सरकारमा बस्नेहरु निर्वाचनका बेला सत्ता, शक्ति र स्रोतको दुरुपयोग गर्छन्,’ उनले भने, ‘यो प्रतिष्ठानको कुरा पनि चुनाव लक्षित छ।’