मोहनापुल अत्तरीया ६ लेन सडकमा यात्रुलाई अर्को लेनमा जान सास्ती, अव्यवहारिक क्रसिङले खर्च बढी


अत्तरिया ः धनगढीको मोहनापुल अत्तरीया ६ लेन सडकमा अव्यवहारिक क्रसिङ हुने गरेको पाइएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण भएसँगै क्रसिङ नहुँदा यात्रुलाई अर्को लेनमा जान सास्ती खेप्न बाध्य भएका छन्। अर्को तर्फ सवारीसाधनमा रहेका यात्रुलाई क्रसिङ समय खर्च हुनुका साथै अनावश्यक पेट्रोल खर्च भैरहेको हो ।

धनगढीचौराहस्थित ‘बस स्ट्याण्ड’ नजिकै पुगेर मोटरसाइकलमा सोही बाटो फर्कदै गरेका धनगढीका वीरेन्द्र खड्कालाई चौराहमै रहेको ट्राफिक प्रहरीले सिटी बजायो र चाबी थुत्यो। उनलाई गलत बाटोबाट किन फर्किएको भन्दै सजाय हुने सुनाउन थाले ट्राफिक प्रहरीले। उनले भने,आफन्तलाई छोड्न यही ‘बस स्ट्याण्ड’मा लागेको बससम्म गएको थिएँ, यहीबाट फर्कें तर आफ्नै साइडबाट फर्कदा मलाई करिब एक किलोमिटर पर जानुपर्ने र फेरि एक किलोमिटर अर्को साइडबाट फर्केर चौराह पुग्नुपर्ने भएकाले समय र पेट्रोलको बचतका लागि यही बाटोबाट फर्केंको बताए ।

उनलाई प्रहरीले गलत रुट प्रयोग गरेको भन्दै दण्ड तिराउन खोज्दै थिए। उनले अनुनय विनय गरे र अबदेखि यस्तो गल्ती नगर्ने भन्दै माफी मागे। यो एक प्रतिनिधिमूलक घटना मात्रै थियो बुधबार दिउँसो ट्राफिक चौराहमा। एकछिन मात्रै ट्राफिक चौराहमा बस्ने हो भने यस्ता घटना सयौं दोहोरिएका देखिन्छन्। यसको सब कारण भनेकै नवनिर्मित ६ लेन सडकमा बनाइएको अव्यवहारिक क्रसिङ (मेडिएन) नै हो।मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण भएसँगै आम नागरिक जति खुसी भएका थिए त्यति नै सास्ती खेप्न बाध्य भएका छन्। यसको एउटै मात्र कारण हो– अव्यवहारिक क्रसिङ (मेडिएन) ।करिब एक किलोमिटरको दूरीमा क्रसिङ पास राख्दा एक लेनबाट अर्को लेनमा जाने यात्रुलाई निकै लामो दूरी पार गर्नुपर्ने बाध्यता भएको छ।

आम उपभोक्तालाई दैनिक बढिरहेको पेट्रोलियम पदार्थको महँगीको भार पनि थपिँदै गएको छ। धनगढी चौराहबाट सहिद गेट जाँदै गर्दा बीचमा काम परेमा अर्को लेनमा जान पूरै एक किलोमिटर अगाडि पुगेर पुनः एक किलोमिटर फर्कनुपर्ने बाध्यता छ। जसले गर्दा यात्रुलाई समय र पेट्रोलियम पदार्थ दुवैको खर्च बढेको छ। ‘शहीद गेटबाट राष्ट्रिय वाणिज्य बैंक जानु परेमा बीचमा क्रसिङ नहुँदा पूरै चौराह घुम्नुपर्ने बाध्यता रहेको सुनाउँदै सीताराम ओझाले भने– ‘धनगढीमा बनेको ६ लेन सडक अव्यवहारिक भएका कारणले गर्दा समय र पैसो दुबै नोक्सान भएको छ ।’ उनले ६ लेन सडकमा अव्यवहारिक क्रसिङ पास राख्दा एक लेनबाट अर्को लेन जान निकै टाढा जानुपर्ने बनाइएको गुनासो गरे। धनगढी सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र र त्यसमा पनि प्रदेशकै राजधानी रहेको ठाउँमा जनघनत्वको चाप अत्यधिक रहेकाले त्यस्तो ठाउँमा क्रसिङ राख्दा व्यवहारिकता पनि हेर्नुपर्ने उनी बताउँछन्।

‘धनगढीको मोहनापुलदेखि चटकपुरको मुख्य बजार क्षेत्रमा जम्मा ३ ठाउँमा मात्रै क्रसिङ राखिनाले साइकल, मोटरसाइकल तथा चार पाङ्ग्रे सवारी साधनलाई लामो दूरी तय गर्नुपर्ने बाध्यता छ,’ अर्का मोटरसाइकल चालक राजकुमार चौधरीले भने– ‘यो अलि अव्यवहारिक भएका कारणले सामान्य यात्रुले सास्ती खेप्नु परेको छ ।’क्रसिङ राखिँदा पेट्रोलियम पदार्थ राखिएको पम्प, विद्यालय, भिडभाड हुने सरकारी कार्यालय तथा सवारी साधन पार्किङ गरिने स्थल नजिक हुनुपर्नेमा पूरै अव्यवहारिक र मनमौजी तरिकाले राखिएको उनले गुनासो गरे। ६ लेन सडक भनेको हाइबे ‘कन्सेप्ट’को भएकाले यसलाई धनगढी सहर बीचबाट नबनाएर बस्ती भन्दा टाढा बनाउनुपर्ने भए पनि मापदण्डविपरीत बजारमै बनाइएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर बिष्ट बताउँछन्।‘पहिलो कुरो त यस्तो ठूलो राजमार्ग बजारमा बनाइनु हुँदैनथ्यो, बनाइहालियो,’ उनले भने, ‘बनाइसकेको सडकलाई पनि यहाँको जनघनत्व, यात्रु चाप, भिडभाड हुने सरकारी कार्यालय र अत्यावश्यकीय पेट्रोलियम पम्मलाई लक्षित गरेर क्रसिङ दिइनुपर्छ ।’ ६ लेन सडक निर्माण गर्नुअघि गुगलबाट हेरेर डिजाइनिङ गरिएको आरोप लगाउँदै उनले भने ‘सुरुमै सडकको डिजाइनिङ गर्दा फिल्डमा आएर त्यहाँको भौगोलिक तथा सामाजिक वस्तुस्थितिलाई अध्ययन गर्नुपथ्र्यो, त्यो नगरेरै अव्यवहारिक तरिकाले निर्माण गरियो ।

’बाटो भनेको जनताको सुविधाका लागि नै बनाइने भएको बताउँदै राष्ट्रिय उपभोक्ता मञ्च सुदूरपश्चिम संयोजक हरि रेग्मीले भने, ‘बाटो जनताका लागि बनाइने हो भने जनतालाई नै सास्ती भयो भने त्यसको औचित्य के रु यसलाई नियम कानुनमा मिल्ने र मिलाउने ठाउँ भएमा व्यवहारिक बनाउनु जरुरी छ ।’ पेट्रोलियम पदार्थको बढ्दो महँगी र बाहिरी देशबाट ल्याउनुपर्ने भएकाले हामीले जतिसक्दो खपत गर्नुपर्नेमा अव्यवहारिक क्रसिङले गर्दा आम उपभोक्ताले नजिकै पुगेर फर्कन पनि कम्तिमा २ किलोमिटरको दूरी पार गर्नुपर्ने अवस्था आएको उनले गुनासो गरे। उनले भने ‘यो ६ लेन सडकमा बनाइएको अव्यवहारिक क्रसिङ आम उपभोक्ताका हितमा भएन, यसलाई सच्याइनु पर्छ ।’अव्यवहारिक तरिकाले क्रसिङ राख्दा व्यापारी व्यवसायीलाई समेत मर्का परेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले भने– ‘करिब एक किलोमिटर टाढाको दूरीमा एक लेनबाट अर्को लेनमा छिर्ने क्रसिङ बनाइँदा धनगढी बजार क्षेत्रका उद्योगी व्यवसायीलाई समस्या थपिएको छ ।’

नजिकै आइपुगेको ग्राहकले लामो दूरी पार गरेर फर्किनुपर्ने बाध्यतालाई सहजीकरण गरेर क्रसिङलाई व्यवहारिक हिसाबले नजिक बनाइनुपर्ने उनले तर्क गरे। ‘उद्योग तथा कलकारखानालाई नजिक पर्ने प्वाइन्टमा क्रसिङ राख्नुपर्नेमा निकै टाढा र अपायक हिसाबले प्वाइन्ट राखिएको छ,’ उनले भने– ‘यसलाई व्यवहारिक बनाइनुपर्छ ।’ मोहनापुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडक खण्डमा १५ ठाउँमा क्रसिङ प्वाइन्ट राखिएको छ। जुन अनुसार करिब १ किलोमिटरको दूरीमा मेडिएन राखिएको देखिन्छ। मोहनापुल–अत्तरिया सडक योजना प्रमुख रामबहादुर गुरुङले भने– ‘हामीले मेडिएन ९क्रसिङ० हाइवेको ‘कन्सेप्ट’ मा बनाएका हौँ तर अहिले आएर अलिकता अव्यवहारिक भएको हो कि भन्ने हामीलाई पनि फिल भएको छ ।’ सडक अहिले पनि निर्माण चरणमै रहेकाले त्यसलाई केही व्यवहारिकता हेरेर ठाउँ दिन सकिने बताउँदै उनले भने– ‘केही गुनासाहरू आएका छन्, हामीले पनि ती गुनासालाई मध्यनजर गर्दै इन्जिनियर सापको संयोजकत्वमा अनुगमन र अध्ययन टोली बनाएका छौँ, उहाँहरूको प्रतिवेदनका आधारमा असोजपछि मिल्ने ठाउँमा मेडिएन खोलिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0