चुनावमा पाँच दलीय गठबन्धन गर्ने सहमति,   सिट बाडफाँटका लागि कार्यदल  गठन


काठमाण्डौं – सत्तारुढ पाँच दलीय गठबन्धनबीच आगामी मंसिर मा हुने निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

हिजो मन्त्रिपरिषदको बैठकले मंसिर मा प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको थियो । चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कांग्रेसबाट शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल बैठकमा सहभागी थिए ।

यसैबिच सत्ता गठबन्धनले चुनावी सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई–दुई जना सदस्य राखिएका छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

नेकपा एसबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जसपाबाट राम सहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0