किन मारिए सहिद भीमदत्त पन्त ?


अत्तरिया : किसान नेता सहिद भीमदत्त पन्तको ६९ औं स्मृति दिवस कञ्चनपुरसँगै उनको जन्मथलो डडेल्धुरा जिल्लामा हरेक बर्ष मनाउदै आएको छ। कञ्चनपुरको भीमदत्त स्मृति पार्क, ब्रह्मदेव र बेलारी सँगै डडेल्धुराको बागबजारमा सहिद भीमदत्तको सालिकमा औपचारिक कार्यक्रमको आयोजना गरी साउन १७ गतेका दिन माल्यार्पण गरियो।
अहिले सालिकमा सीमित हुनुभएका सहिद भीमदत्त पन्तका बारेमा अन्यत्रको कुरा छोडौँ, उनको कर्मथलोका धेरै मानिसलाई थाहा छैन। आखिर को हुन भीमदत्तरु किन बन्यो उनको सालिकरु भन्ने कुराबारे सबै अवगत हुनु आवश्यक भएको वताउछन् अखिल नेपाल किसान महासंघ राष्ट्रिय समिति सचिवालय सदस्य खेम सुवेदी।
सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका सुवेदीले भने, ‘उनी किसान नेतामात्रै नभएर आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तनका संवाहक थिए। उनको योगदानको ढिलै भएपनि राज्यले कदर गरेको छ। जसलाई आजका दिन हामी सहिद भीमदत्त पन्त स्मृति दिवसका रुपमा मनाउँदै आएका छौं।’ राज्यबाट हुने दमनका विरुद्धको लडाईँका क्रममा सहादत पाएको उनले देशमा आमूल परिवर्तन चाहेको अध्यक्ष सुवेदीको भनाई छ।

यिनै सहिदका नाममा तत्कालीन महेन्द्रनगर नगरपालिकालाई भीमदत्त नगरपालिका घोषण गरिएको छ। त्यस्तै भीनपा –४ मा भीमदत्त पन्त स्मृति भवन निर्माण गरी उनको स्मरण गराउने सामाग्री संकलन गरी संग्रहालयमै राख्ने तयारी समेत भइरहेको उनले जानकारी दिए।

को हुन् भीमदत्त पन्त ?
तारानाथ पन्त उनका बुबा हुन। उनीको वि. सं १९८३ साल मंसिर १० गते आमा सरस्वती देवीको कोखबाट भीमदत्तको डडेल्धुरा जिल्लाको घटाला कारीगाउँमा (अहिलेको अमरगढी नगरपालिका १) मा वि.सं १९८३ साल मंसिर १० गते जन्म भएको थियो।

सहिद भीमदत्तले ११ वर्षको उमेरमा पार्वतीदेवी ९ईश्वरी० सँग विवाह गरेका थिए। भीमदत्त दम्पतीका दुई छोरा र एक छोरी जन्मे पनि जीवित रहेनन्। १५ वर्षको उमेरमा भारतको उत्तरप्रदेश सिंघाईबाट हाईस्कुल पास गरेपछि उनी स्वदेश फर्किए। गृहजिल्ला फर्केपछि उनले डडेल्धुराको बिरखनमा संस्कृत पाठशाला खोले। त्यसपछि भीमदत्तले केही अन्तरालमा तल्लो सोरठ र रूपालमा पनि पाठशाला खोलेका थिए।

२००१ सालमा भारत पढ्न गएका भीमदत्त त्यतिबेला भारतमा अंग्रेज हटाउ आन्दोलनमा सहभागि हुँदा पक्राउ समेत परेका थिए। २००३ सालमा छुटेपछि उनले डडेल्धुराको शैक्षिक तथा सामाजिक परिवर्तनमा प्रमुख भूमिका निर्वाह गरेका थिए। त्यसमध्ये एक बाहुन परिवारको भए तापनि उनले दलितका घरमा खाना खाएर छुवाछुत अन्त्यको घोषणा समेत गरेका थिए।

भीमदत्तको राजनीतिक यात्रा

भीमदत्तले नेपाल फर्केर २००६ सालमा नेपाली कांग्रेस पार्टीको सदस्यता लिए। २००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि उनले कांग्रेस छाडे। त्यसपछि कम्युनिष्ट पार्टीतिर लगाव राख्दै गरेका भीमदत्तले २००९ सालमा काठमाडौँ पुगेर पार्टीसँग सम्पर्क गरे।

सामन्ती संस्कारका विरुद्ध घरमै विद्रोह गर्ने भीमदत्तले अन्याय सामाजिक भेदभाव सहन नसक्ने २००७ सालदेखि आन्दोलनको सुरुवात गरेका थिए। गरीब, दलित, जनजाति किसानहरूलाई सङ्गठित गरी राणा विरोधी आन्दोलनमा समेत भीमदत्तको ठूलो भूमिका रहेको थियो। तर २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको व्यवहारबाट रुष्ट भीमदत्तले क्रान्ति पूरा नभएको भन्दै राणासँग मिलेर बनाएको सरकारको विरोध गरे। परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्तले दलित मगर र थारूहरू सङ्गठित गरी मुक्ति सेना गठन गरे। यसमा नेपालगञ्जका गौरीलाल र रुपिसिंह दुई जना सेनाका कमान्डर थिए।

‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्दै सशक्त रूपमा किसान आन्दोलन गर्ने विद्रोही भीमदत्तले किसानको हक हितमा आवाज उठाएका थिए। त्यति सर्वसाधारणले नुनसमेत खान नपाएको देखेर नुन आन्दोलनको घोषणा गरी कञ्चनपुरको ब्रह्मदेवमा रहेको गोदामबाट गरिबहरूलाई नुन वितरण समेत गरेका थिए। उनी ‘जसको जोत उसको पोत, कमैया प्रथा उन्मूलन’ आन्दोलनमा समेत सक्रिय भएर लागेका थिए। उनले किसानका जाली तमसुक बनाउने र श्रमशोषण गर्ने ठालुहरू विरुद्ध कारवाहीसँगै दलितले पकाएको भान्सामा खाना खान लगाएका थिए।

कांग्रेससँग वैचारिक मतभेदपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थालेको जानकार बताउँछन। केही ठाउँमा जय नेपाल भन्नेलाई उनले कारबाहीसमेत गर्ने गरेको भनाई छ।
उनले ‘गरिबहरू सङ्गठित हुनुपर्छ। अन्न खेर फाल्नु हुँदैन। उत्पादन बढाउनुपर्छ। अनावश्यक खर्च घटाउनु पर्छ। प्रकृति बिगार्ने काम गर्नु हुँदैन’ लगायतका सचेतना अभियानसमेत चालेका थिए।

सहिद भीमदत्तको आन्दोलनबारे खोज गरी प्रकाशन गरिएको ‘सहिद भीमदत्त पन्त’ नामक कृति प्रकाशन गरिएको छ। लेखक तथा प्राध्यापक कल्याण ओझाको २०६३ मा प्रकाशित गरेको कृती निकै सान्दभिर्क देखिन्छ। जसमा अन्याय र भेदभाव सहन नसक्ने स्वभावका भीमदत्तले २००७ सालदेखि नै आन्दोलनको सुरुवात गरेको उल्लेख गरिएको छ। उठ जाग रे, नेपाली नवजवान जाग रे, नेपाल देशलाई स्वतन्त्र बनाउ रे लगायतका देशभक्ति गीत समावेश छन्।

कसरी भयो हत्या ?

भीमदत्तले वि।सं। २००९ सालमा कञ्चनपुर जिल्लाको ब्रह्मदेवमा लुकाएर राखिएको नुनको गोदाम कब्जा गरेका थिए। उक्त गोदामबाट कब्जा गरेको नुन किसानलाई बितरण गरेपछि भीमदत्त नेपाली र भारतीय शासकका दुश्मनका रुपमा चिनिएका थिए।

वि.सं २०१० साउन १७ गते डडेल्धुराको साबिकको आलिताल र डोटीको छतिवन गाविसको सीमाना क्षेत्रको गल्लेखमा खाना खाइरहेका बेला नेपाल र भारतका सेनाले घेरा हालेका थिए। दुबै देशको सेना टोलीले संयुक्त रुपमा घेरा हाले पछि भीमदत्तकै मित लालबहादुर थापाले धोका दिएर उनको हत्या गरिएको भनिन्छ। यसको अधिकारिकता पुष्टि कतैबाट हुँदैन।

उनलाई फाँसी नभई गोली हानेर हत्या गरिएको र पछि टाउको काटेको भनाई छ। आइन्दा कसैले पनि विद्रोह नगरोस् भनेर आमजनतालाई तर्साउन उनको टाउको काटेर डडेलधुराको टुडिखेलमा झुन्ड्याइएको थियो। भीमदत्तलाई राज्यले वि।सं।२०७२ फागुन १९ गते सहिद घोषणा गरेको हो। साभार: दिनेश खबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0