धनगढीमा धामी-झाँक्री सम्मेलन


धनगढी: धनगढीमा तीन दिन सञ्चालन गरिएको धामी–झाँक्री सम्मेलन शनिबार सम्पन्न भएको छ। मर्यादित महिनावारीका लागि सञ्चालित धामी–झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।

घोषणापत्रमा घरपरिवारमा मर्यादित महिनावारीमैत्री बनाउन किशोरी, महिलालाई महिनावारी भएका पाँच दिन र अन्य २५ दिन समान व्यवहार कार्यान्वयन गर्नुपर्ने उल्लेख छ। धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिमा आत्मविश्वास बढाउनका लागि मर्यादित महिनावारीका बारेमा सूचित गर्ने, महिनावारीको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताका लागि सकारात्मक सहयोग गर्ने, महिनावारी भएको समयमा पनि किशोरीलाई विद्यालय जान प्रोत्साहित गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ।

सम्मेलनमा सहभागी धामी–झाँक्रीले महिनावारीको रगत पवित्र र सृष्टिको आधार भएकाले यसलाई मर्यादित बनाउन सबैको जिम्मेवारी महत्त्वपूर्ण हुने बताउँदै महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछुत नगरी उचित सम्मान प्रकट गर्न पहल गर्ने प्रतिबद्धता जनाए।

सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री अमरबहादुर साउदले मर्यादित महिनावारीका लागि सम्मेलनमार्फत जारी गरिएको घोषणापत्र कार्यान्वयन गर्न प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। सम्मेलनमा सुदूरपश्चिमको बाजुरा, डोटी, कैलाली, अछाम र कर्णाली प्रदेशको मुगु जिल्लाका धामी झाँक्री तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0