नालामै घर बन्न थालेपछि धनगढीको बेली डुब्ने चिन्ता


धनगढी: कैलालीको धनगढी बजार क्षेत्रमा बर्सातको समयमा डुबान हुँदै आएको छ। धनगढीको मुख्य समस्या नै डुबान हो। पछिल्ला वर्षहरुमा धनगढीका भित्री गाउँहरुमा पनि यो समस्या देखिन थालेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को बेली गाउँ डुबानको चपेटामा पर्न थालेको हो।

हुलाकी सडकमा निर्माण गरिएको कल्भर्टबाट पानी बग्न बन्द भएपछि उत्तर बेली गाउँ डुबानको चपेटामा परेको स्थानीय मुकेश धामीले बताए। उनले हुलाकी सडकको दक्षिणमा एक निजी घर निर्माण थालिएकाले पानीको निकास बन्द भएको बताए। ‘पहिला यो क्षेत्रमा पानी जम्मा हुँदैनथ्यो। बर्सातमा जम्मा भएको पानी सहजै बग्दै आएको थियो। तर हुलाकी सडकको कल्भर्ट मुनि एक घर बन्दैछ। घरका कारण यताको पानी जान पाएको छैन। एक हप्ता अगाडि परेको वर्षाको पानी अझै बगेको छैन’ उनले भने।

कल्भर्टको दक्षिणतिर व्यक्तिको नाममा रहेको जग्गामा घर निर्माण थालिएकाले बेली गाउँको पानी थुनिएको छ। बर्सातको पानी खेतमा थुनिएपछि धान समेत कुहिएको मुकेश धामीले बताए। ‘यो क्षेत्रमा धान राम्रो फल्छ। तर यो पटक लामो समयसम्म पानी जम्मा भएकाले धान कुहिएको छ। वडाध्यक्षलाई यो गुनासो गरेका थियौं। तर केही भएको छैन,’ उनले भने। बेलीका स्थानीयले वडा कार्यालयमा पटक–पटक सो घरका कारण गाउँ डुबानमा पर्ने गुनासो गर्दै आएका छन्।

निजी जग्गा र नक्सा समेत पास गरिएकाले वडा सरकार पनि निरीह देखिएको छ। निर्वाचित जनप्रतिनिधिहरुलाई एक घरका कारण पूरै बस्ती डुबानमा पर्ने जानकारी छ। तर, समस्या समाधानका लागि काम भने भएको छैन। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोती रानाले कल्भर्टको पानी बग्ने नालामा घर निर्माण थालिएको विषयमा जानकार भएको बताए। उनले सो विषयमा नगर प्रमुखसँग छलफल थालेको समेत बताएका छन्।

वडाध्यक्ष रानाका अनुसार उक्त घर निर्माणका लागि नक्सासमेत पास गरिएको छ। यता धनगढी उपमहानगरपालिकाले डुबान समस्या समाधनको नीति लिएको छ। डुबानको समस्या समाधान गर्ने भन्दै अतिक्रमित खोलानाला तथा सार्वजनिक क्षेत्र खाली गराइँदैछ। तर बेली गाउँमा भने प्राकृतिक पानीको बहाव रहेको क्षेत्र व्यक्तिको नाममा दर्ता भएको पाइएको छ। सोही नालामा घर निर्माण हुँदैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0