धनगढीमा ट्याङकर व्यवसायीको ‘दादागिरी’ कायमै १


धनगढीः कुनै पनि सवारी धानीले आफ्नो सवारीसाधनको पार्किङ व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी स्वंमको हो। व्यवसायिक फाइदाका लागि सञ्चालन हुने सवारीसाधनको पार्किङ व्यवस्था मिलाउने काम पनि स्वंम व्यवसायी तथा आवद्ध संस्थाले गर्नुपर्छ।

तर, कैलालीको धनगढीमा विगत लामो समयदेखि पेट्रोलियम पदार्थ बोक्ने ट्याङकर पार्किङको सवालमा भने व्यवसायीले दादागिरी देखाउँदै आएका छन्। धनगढीको उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको नेपाल आयल निगम अगाडी अहिले पनि पार्किङ हुँदै आएको छ। निगमले पार्किङ स्थल खोजेको भएपनि अटेरी व्यवसायीले सडकमै पार्किङ गर्दै आएका छन्।

यता ट्याङकर व्यवसायी संघका अध्यक्ष मनिराम पाण्डेले भने पार्किङ स्थलमा पानी जमेको दाबी गरे। ‘पार्किङ स्थलमा पानी जमेपछि हामीले प्रहरीसँग आग्रह गरेर ट्याङकर सडकमा राखेका हौं,’ उनले भने, ‘अब भोलिबाट उतै पार्किङ हुन्छन्।’ नेपाल आयल नियम सुदूरपश्चिम प्रादेशिक कार्यालयले ट्याङकर पार्किङ स्थल खोजेर व्यवसायीलाई उपलब्ध गराएको छ।

धनगढीकै वडा नम्बर ३ मा रहेको नेशनल ट्रेडिङको जग्गा भाडामा लिएर निगमले पार्किङ स्थल बनाएको थियो। सुरुवाती चरणमा उक्त स्थलमा पार्किङ गरिएपनि अहिले भने फेरि सडकमै पार्किङ हुन थालेको छ। केहीदिन अगाडि परेको झरीका कारण पार्किङ स्थलमा पानी जमेपछि सडकमा पार्किङ गरिएको व्यवसायीको भनाई छ।

अहिले उक्त पानी सुकिसकेको भएपनि ट्याङकरहरु सडकमै पार्किङ गरी राखिएको नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख रामकुमार न्यौपानेले बताए। ‘पार्किङ स्थल खाली भएको अवस्थामा समेत केही ट्याङकरहरु सडकमा राखेको देखिएको छ,. उनले भने, ‘हाल पार्किङ स्थलको पानी सुकिसकेको छ भने ठाउँ पनि प्रर्याप्त छ।

सवारी साधन सडकमै पार्किङ गरिएको अवस्थामा त्यसको निगरानी तथा व्यवस्थापन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको पनि हो। तर, अटेरी ट्याङकर व्यवसायीको सामु जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली पनि निरीह जस्तै बनेको छ। पेट्रोलिय पदार्थ बोक्ने ट्याङकर सडकमै पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ। पार्किङस्थल हुँदा पनि सडकमा पार्किङ गर्ने सवारी धनीलाई कारबाही गर्न ट्राफिक प्रहरीले सकेको छैन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख पुष्पराज जोशीले पनि केही दिन अगाडि परेको पानीका कारण सडकमा ट्याङकर राख्न दिएको बताएका छन्। ‘पानी परेपछि केही दिनका लागि छुट दिइएको हो। फेरि अटेरी गरेपछि हामी कारबाही गछौं, उनले भने। सडकमै हुने पार्किङले सहरको सुन्दरतामाथि पनि प्रश्न उठाएको छ। त्यस विषयमा धनगढी उपमहानगर र स्थानीय प्रशासन मौन छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0