सुदूरपश्चिमको बजेटप्रति सत्तापक्षीय सांसद नै रुष्ट


धनगढी-  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सत्ता पक्षकै सांसदहरुले रुष्टता जनाएका छन्। सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले असार १ गते आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट प्रस्तुत गरेका थिए।

बजेट संसदमा प्रस्तुत भएसँगै यसमथि छलफल अगाडि बढाएर पारित गर्नुपर्ने हुन्छ। तर, बजेट प्रस्तुत भएको दुई साता बढी बितिसक्दा पनि छलफलको टुंगो लागेको छैन। सरकारले मनपरी ढंगले बजेटमा योजना समावेश गरिएको भन्दै मन्त्रीदेखि सत्तारुढ दलका सांसद तथा प्रतिपक्षी सांसद रुष्ट बनेका हुन्। बजेटप्रतिको असन्तुष्टिका कारण प्रदेश सभा बैठक अनिश्चित बनेको छ। बजेटमाथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेशसभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी सत्तारुढ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भरतबहादुर खड्काले बजेट संशोधन गर्नुपर्ने माग सरकारले सम्बोधन नगरेसम्म प्रदेशसभाको बैठक सञ्चालन गर्न नसकिने अडान राखेका थिए। यससँगै बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेश सभा बैठक तीन पटक स्थगित भएको छ। यसअघि असार ८ गते र १२ गते बोलाइएको बैठक पनि सांसदहरुको असहमतिपछि स्थगित भएको थियो। प्रदेश सांसदहरुले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको आरोप लगाउँदै संशोधनको अडान राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0