संघीयतापछि तीनै तहका सरकार प्रमुखहरुले पहिलोपटक एउटै मञ्चबाट धनगढीको विकासमा साझेदारी गर्ने प्रतिवद्धता जनाए


धनगढी : पहिलोपटक प्रधानमन्त्री, सुदूरपश्चिमका मुख्यमन्त्री र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख शनिबार एकै मञ्चमा देखिए। संघीयतापछि धनगढीमा तीनै तहका सरकार प्रमुखहरुले पहिलोपटक एक मञ्चबाट विकासमा साझेदारी गर्ने प्रतिवद्धता जनाएका हुन्।
प्रदेशको एक मात्र उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनीहरुले धनगढीको विकास निर्माणमा सहकार्य गर्ने बताएका छन्। धनगढीको डुबान, कटान तथा फोहोरमैला व्यवस्थापन गरी विकसित नगर बनाउन तीनै तहका सरकार प्रमुखहरुले सहकार्य गर्ने उद्घोष गरेका हुन्।

धनगढीको समग्र विकासका लागि आवधिक योजना निर्माणको चरणमा रहेकोले विकासका लागि साझेदारी गर्न प्रदेश र संघ सरकारलाई नगरप्रमुख गोपाल हमालले आग्रह गरेका थिए। ‘धनगढीको विकासका लागि हामीलाई साझेदारको खाँचो छ। अहिले धनगढीमा जसरी बस्ती विकास भएको छ, मान्छेको आउने क्रम बढेको छ। यसले गर्दा फोहर, डुबान, र अस्तव्यस्तता बढेको छ,’ उनले भने, ‘समयमै यसलाई रोक्न सकिएन भने धनगढी कंक्रिटको सहरमात्रै बन्छ। तसर्थ प्रदेश र संघ सरकारले धनगढीलाई सबैको साझा सहरका रुपमा विकास गर्न साझेदारी गर्नुपर्छ भन्ने चाहान्छु।’
धनगढीको डुबान समस्या समाधान गर्न भन्दै उपमहानगरपालिकाले अतिक्रमित नालाको क्षेत्रफल खाली गराउँदैछ। सुरक्षित धनगढीका लागि सार्वजनिक खोला, नाला, कुलो तथा तालहरुको अतिक्रमण खाली गराउने योजना उपमहानगरले कार्यान्वयन गरिरहेको छ।

सोही अभियानलाई प्रदेश र संघ सरकारले पनि सहयोग बताएको छ। अन्य प्रदेशका नागरिक तथा पर्यटकले धनगढीको विकास हेरेर सुदूरपश्चिमप्रतिकोे धारणा बनाउने भएकाले नमूना धनगढी बनाउने उनीहरुले बताएका हुन्। धनगढीको विकासले अन्य ८७ पालिकालाई समेत प्रभावित पार्ने धारणा तीनै सरकार प्रमुखको छ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० मा धनगढीको मुख्य सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ। तसर्थ प्रदेश सरकारले धनगढीको विकासका लागि कुनै कमि नराख्ने मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। ‘यहाको डुबानलाई रोक्न, ढल निकासको समस्या हल गर्न, संघीय प्रदेश र स्थानीय तहको साझेदारीमा सुरू गर्यो भने छिट्टै परिणाम दिन सक्छौँ,’ उनले भने ‘धनगढीको विकासका लागि प्रदेश सरकारले गर्नुपर्ने कुरामा कुनै कमी रहने छैन।’

धनगढीको अतिक्रमित क्षेत्र खाली गराउन तथा नदी कटान रोक्न संघ सरकारले समेत सहयोग गर्ने आश्वासन दिएको छ। धनगढीमा भएका सबैखाले अतिक्रमण हटाएर नगरको समग्र पक्षको विकास गर्न सहयोग गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताए। ‘अतिक्रमणको समस्या छ नि जो, अब अतिक्रमण रोक्नुपर्ने हो। यहाँका जनता र नगरलाई सुन्दर बनाउने हो भने अतिक्रमण रोक्नैपर्छ,’ उनले भने, ‘कहिलेकाँही राम्रो कामका लागि स्टोङ मेजर अपनाउनै पर्छ। धनगढी सुन्दर छ, यसलाई थप सुन्दर बनाउन संघीय सरकारको सहयोग रहन्छ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0