बाजुरा बाहेक सुदूरपश्चिममा ८ जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न, प्रमुखमा काँग्रेसको ’क्लिन स्वीप’


अत्तरियाः सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ। बाजुराबाहेक प्रदेशका ८ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको हो।

समन्वय समितिको ८ वटै प्रमुखमा नेपाली काँग्रेसले बाजी मारेको छ। एमालेले भने उपप्रमुख पनि जित्न सकेको छैन। सोमबार सम्पन्न जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार पदमबहादुर कलेल विजयी भए भने उपप्रमुखमा माओवादी केन्द्रका खगराज भुसाल निर्वाचत भए।
सत्ता गठबन्धनलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपल हमालले पनि साथ दिएका थिए। उता जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध भइसकेका छन्। प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहोरा र उपप्रमुखमा पनि कांग्रेसकै रामकुमारी राना निर्विरोध भएका हुन्।
जिल्ला समन्वय समिति डडेल्धुरामा पनि नेपाली काँग्रेसका सबै उम्मेदवार निर्विरोध भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ताको समयसम्म काँग्रेसबाहेक अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि काँग्रेसका उम्मेदवार निर्विरोध भएका हुन्। समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका गगनसिंह भण्डारी र उपप्रमुखमा कांग्रेसकै अमृता ठडालीमगर निर्विरोध भएका हुन्।

जिल्ला समन्वय समिति डोटीका सबै पदाधिकारी पनि निर्विरोध भएका थिए। प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह र उपप्रमुखमा काँग्रेसकै स्मृति चुनारा निर्वाचित भएका हुन्। बैतडीको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी विजयी भएका थिए।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी भएका थिए। दार्चुलामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका महादेव बडू र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन्। जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका भने उपप्रमुखमा पनि काँग्रेसकै दानमती बम शाही निर्वाचित भएकी थिइन्।

यस्तै आज जिल्ला समन्वय समिति बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध भएका छन्। नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनका उम्मेदवारहरुको प्यानल नै निर्विरोध भएको हो। नेकपा एमालेले उम्मेदवारी नै नदिएपछि गठबन्धनका उम्मेदवार निर्विरोध भएका बताइएको छ। समन्वय समिति प्रमुखमा काँग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले बताए।

महिला सदस्यमा काँग्रेसकी अस्मितादेवी चदारा, बाटुलीदेवी ओड र एकीकृत समाजवादीबाट लक्ष्मीदेवी कामी निर्विरोध भएकी छिन्। खुल्ला सदस्यमा कांग्रेसका गौरीशङ्कर जोशी, टोपबहादुर खड्का, माओवादी केन्द्रका गोरखबहादुर सिंह र दलित सदस्यमा नेपाली कांग्रेसकी रिता कामी निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0