बैतडीको डिलाशैनी गाउँपालिकाको निर्णय : रोजगारीको शिलशिलामा भारत जाने कामदारको निशुल्क बीमा गरिने


बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाले रोजगारीका शिलशिलामा भारत जाने कामदारहरुको निशुल्क बीमा गर्ने भएको छ । गाउँपालिकाबाट रोजागारीका लागि भारत जाने प्रत्येक नागरिकको निशुल्क दुर्घटना बीमा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।

सोमबार पदभार ग्रहण गर्दै जोशीले भारतमा रोजगारीका लागि जानेहरुको निशुल्क बीमा गर्ने घोषणा गरेका हुन् । उनले भने ‘गाउँपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निशुल्क बीमा गर्ने घोषणा गरेका छौं । जोखिम कम होस भनेर हामीले यो निर्णय गरेका हौं ।’

कार्यविधि बनाएर रोजगारीका लागि भारत जानेहरुको बीमा गरिने गाउँपालिकाले जनाएको छ । रोजगारीका लागि भारत जानेहरुले सम्बन्धित वडा तथा पालिकामा आफ्नो विवरण पेश गर्ने र सोही विवरणको आधारमा दुर्घटना बीमा गरिने अध्यक्ष जोशीले बताए ।

रोजगारीको सिलसिलामा भारत रहेका नेपालीहरु विभिन्न दुर्घटना पर्ने गरेको र उनीहरुलाई विभिन्न समस्या हुने भएकाले त्यो बेला राहत होस भनेर बीमा गर्न लागिएको अध्यक्ष जोशीले बताए ।

गाउँपालिकाका धेरै जसो नागरिक रोजगारीका लागि भारत जाने भएकाले उनीहरुका समस्यालाई ध्यानमा राखेर यो निर्णय गरिएको डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष यज्ञराज भट्टले बताए । उनले भने ‘हामीले गाउँपालिकाबासीको पक्षमा हुने गरेर निर्णय गरेका छौं । यो निर्णयले गाउँपालिकाबासीलाई सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

यस्तै गाउँपालिकाले द्वन्दका बेला शहीद भएकाहरुको परिवारलाई मासिक ३ हजार सम्मान भत्ता र जनआन्दोलनका घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0